शुक्रबार, बैशाख १४, २०८१

काठमाडौँ–दिल्ली बस सेवा सुरु

काठमाडौ मङ्सिर ९, नेपाल र भारतबीच औपचारिक रूपमा बस सेवा सुरु भएको छ ।काठमाडौँ र दिल्ली मार्गमा सरकारी तहमा बस सेवा सञ्चालन हुन लागेको यो पहिलो पटक हो । बस सेवा सञ्चालनसम्बन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिव विष्णुओम बादे र उहाँका भारतीय समकक्षी निरज बर्माले हस्ताक्षर गर्नुभयो । हस्ताक्षर समारोहमा प्रधानमन्त्री सुशील कोइराला र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थिति थियो ।

बा३ख ४१६९ नंको ३५ सिट क्षमताको वातानुकूलित बसबाट सो सेवा सुरु गरिएको हो । बस सेवाको आज यहाँ सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशील कोइराला र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक उद्घाटन गर्नुभयो । सहज रूपमा यातायात सेवा प्रदान गर्ने उद्देश्यका साथ बस सेवा सञ्चालन गरिएको हो । काठमाडौँ– भैरहवा–दिल्ली मार्गमा चल्ने बसबाट काठमाडौँदेखि भारतको राजधानी नयाँ दिल्ली पुग्न लगभग १८ घन्टा लाग्नेछ ।  पर्यटकीय सुविधासहित दैनिक दुई बस काठमाडौँ र नयाँ दिल्लीबाट छुट्ने छ । नयाँ दिल्लीमा पनि भारतीय यातायातमन्त्री नितिश गड्करीले काठमाडौँ–दिल्ली बस सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । सो मार्गमा चल्ने बसको एकतर्फी भाडा रु तीन हजार ६०० लाग्नेछ । यसअघि निजी क्षेत्रबाट सो मार्गमा बस सेवा सञ्चालनमा ल्याइएका थिए । नेपाल र भारतका नागरिकलाई सहज रूपमा एक अर्का मुलुकमा आवतजावतका लागि उक्त बस सेवा प्रभावकारी हुने विश्वास लिइएको छ । यातायात व्यवस्था मन्त्रालयले लामो समयदेखि बस सेवा सञ्चालन गर्ने तयारी गरेको थियो ।

सरकारी तहबाटै सुरु गरिएको बस सेवाबाट दुवै मुलुकका नागरिकबीचसमेत आपसी सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय मह���सङ्घले नेपालबाट र दिल्ली ट्रान्सपोर्ट कर्पोरेसनले भारतबाट सवारी व्यवस्थापन गर्ने मन्त्रालयको भनाइ छ । बस सेवा सुरु गर्दै प्रधानमन्त्री कोइरालाले यो ऐतिहासिक सुरुआत भएको सङ्क्षिप्त प्रतिक्रिया दिनुभयो । भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल भारतबीच जनस्तरमा सम्बन्ध विस्तारका लागि बस सेवाले महत्वपूर्ण योगदान दिएको बताउनुभयो । रासस