बुधबार, बैशाख २६, २०८१

मन्त्रीहरूको अनुपस्थितिका कारण आधा घण्टाका लागि संसद् स्थगित

 काठमाडौँ फागुन २६ मन्त्रीहरूको अनुपस्थितिका कारण व्यवस्थापिका–संसद्को आजको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बिहान ११ बsansadhजेका लागि निर्धारित बैठकको प्रारम्भमा नेपाली काँग्रेसका रामहरि खतिवडा र एमाओवादीका रामनारायण बिडारीले बैठकमा कुनै पनि मन्त्रीहरू उपस्थित नभएकाले कारबाही अगाडि नबढाउन सभामुखसमक्ष माग गर्नुभएको थियो । प्रत्युत्तरमा सभामुख नेम्बाङले मन्त्रिपरिषद् संसद्मार्फत जनताप्रति उत्तरदायी हुने र संसद्मा सरकारको उपस्थिति अपरिहार्य र बाध्यात्मक हुने भएकाले बैठकको कारबाही अगाडि बढ्न नसक्ने जनाउँदै आधा घण्टाका लागि स्थगन गरेको घोषणा गर्नुभयो ।

व्यवस्थापिका–संसद् समय माग

 व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्बाङसित समय लिई सांसद् महालक्ष्मी उपाध्याय ‘डिना’ले अन्तर्राष्ट्रिय नारी दिवसका दिन राजविराजमा नजराना खातुनलाई आगो लगाउनेमाथि छानबिन गर्न माग गर्दै वर्तमान मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको सहभागिता नभएकामा आपत्ति जनाउनुभयो । सांसद वैद्यनाथ चौधरीले नवलपरासी निवासी रामचन्द्र मलामलाई आज भारतीय नम्बरको गाडी प्रयोग गर्दै अपहरण भएको भन्दै उहाँको जीवन रक्षा गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद गोमा कुँबरले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्रोत सम्पन्न गराउन र जुम्लालाई पर्यटकीय जिल्लाका रुपमा घोषणा गर्न माग गर्नुभयो ।

उहाँले राष्ट्रिय एकीकरण तथा एकताका प्रतीक पृथ्वीनारायण शाहका बारेमा भनाइ राखिरहँदा सांसद केशव बडालले आपत्ति जनाउँदै राष्ट्रिय एकीकरणमा पृथ्वीनारायण शाहको कमजोरी थिएन भन्नुभयो । सांसद अक्कल एकवर साहले नुवाकोटको राजधानी त्रिशूलीमा दुई जना मुस्लिमको टाउको काटेर भागेका अपरिचितलाई प्रहरीले पक्राउ गर्न नसकेका गृह मन्त्रालयको ध्यान जाओस् भन्नुभयो । सांसद कुन्तीकुमारी शाहीले यातायात व्यवस्थापन ऐनले सार्वजनिक यातायातमा महिला, वृद्ध, अपाङ्गलाई सिट आरक्षण गरे पनि ऐन कार्यान्वयनमा समस्या आएको भन्दै मन्त्रिपरिषद्बाट मनोनित हुने २६ जनामा कम्तीमा ३३ प्रतिशत महिला मनोनयन गर्न माग गर्नुभयो ।