शुक्रबार, बैशाख १४, २०८१

पत्रकारिता जगतको समृद्धिका लागि दीर्घकालिन कार्ययोजना कार्यान्वयन गर्ने तयारीमा छौँ : मन्त्री गुरुङ

पत्रकार स्वास्थ्य उपचार अक्षय कोष’स्थापनार्थ महानगरको तर्फबाट १५ लाख सहयोग

काठमाडौँ माघ २४,
नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन सत्रलाइ सम्बोधन गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा सिर्जित समस्याको समाधान गर्न मन्त्रालय र वर्तमान सरकार सदैव प्रतिवद्ध रहेको बताउदै आफुले सम्वद्ध मन्त्रालय सम्हाल्दै गर्दाको अवस्थामा नेपाली पत्रकारिता जगतको समृद्धिका लागि दीर्घकालिन कार्ययोजना कार्यान्वयन  गर्दै यस क्षेत्रमा विगत लामो समय देखि  विद्यमान समस्याको समाधान गर्ने बताउनु भएको छ।

त्यस्तै उहाँले पत्रकार समाज रुपान्तरणको मुख्य अङ्ग भएको चर्चा गर्दै रचनात्मक प्रारुपमा सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्प सरकारको गन्तव्यलाइ सहितको सन्देश जनतासमक्ष पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । साथै आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढङ्गबाट पत्रकारलाई छलफलमा बोलाइ कार्यक्रम अघि बढाउन आफुले महत्वपूर्ण पहलकद्मी समेत लिने उहाँले जानकारी दिनुभयो । त्यस्तै गरि मन्त्री गुरुङले हाल रु पाँच करोड रहेको पत्रकार कल्याणकारी कोषका लागि रु पाँच करोड थपेर रु १० करोड बनाएर बहुवर्षीय कार्यक्रमका रुपमा अघि बढाउने जानकारी समेत दिनुभयो ।

त्यस्तै उद्घाटन सत्रमा  काठमाडौं महानगरपालिकाले कोष जेष्ठ अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखालाई ‘पत्रकार स्वास्थ्य उपचार अक्षय कोष’ स्थापनार्थ लागि १५ लाख रुपैयाँ सहयोग रकम प्रदान गरेको छ । आज शाखाको २२ औँ साधारणसभाका अवसरमा महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले पत्रकारिताको गरिमा बढाउन व्यवसायिक पत्रकारितामा आमसञ्चारको ध्यान पुग्नु पर्ने बताउनुभयो । साथै उहाँले निष्पक्ष कलम अहिलेको टड्कारो आवश्यकता भएको बताउदै ‘विकाउ समाचारका लागि विषय खोज्दा तथ्य हराउँछ । समाजमा गलत सन्देश प्रवाह हुन्छ ।’ त्यसअर्थ पत्रकारिात क्षेत्र यस विषयमा संवेदनशील नहुने हो भने समाज, राष्ट्र र राष्ट्रियता नै खतरामा पर्ने तर्फ सचेत हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, वागमती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटा, पत्रकार महासंघका महासचिव रमेश विष्टलगायत वक्ताले सूचना प्रविधिको बढ्द्यो प्रयोग र आमसञ्चार, पत्रकारको भूमिका र पेशागत सुरक्षा, व्यवसायिक पत्रकारिता, बदलिँदो राजनीतिक परिवेशमा आमसञ्चारको भूमिका र संवेदनशीलता लगायत विषयमा धारणा राख्नु भएको थियो ।

त्यसअवसरमा शाखाको सदस्य रहँदाकै बखत मृत्यु भएका १३ जना अग्रज पत्रकारको स्मृति र नाममा १३ जना पत्रकारलाई जनही २० हजार रुपैयाँ राशीसहित सम्मान पत्र प्रदान गरियो । यस बर्ष अशोक स्मृति पत्रकारिता पुरस्कारबाट राजेन्द्र स्थापितलाई     यसैगरी अग्नि शिखा पत्रकारिता पुरस्कार शम्भू श्रेष्ठलाई, शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार बलराम थापालाई, जसुदा प्रधान स्मृति पत्रकारिता पुरस्कार देवेन्द्र चुडाललाई प्रदान गरिएको छ । शोभा शाह स्मृति पुरस्कारिता पुरस्कार निर्मला शर्मालाई, डम्बर गिरी स्मृति पुरस्कारिता पुरस्कार विश्वराज किराँतलाई, बासुदेव दाहाल स्मृति पुरस्कारिता पुरस्कार इन्द्र रिजाललाई, मुरारी गौत्तम स्मृति पुरस्कारिता पुरस्कार निरोधराज पाण्डेलाई, चक्रपाणि नेपाल स्मृति पुरस्कारिता पुरस्कार ज्ञान उदासलाई, रामचन्द्र हुमागार्इँ स्मृति पुरस्कारिता पुरस्कार ईश्वरीप्रसाद वाग्लेलाई, गोविन्द शर्मा स्मृति पुरस्कारिता पुरस्कार मानध्वज लामालाई, टिवि कुलुङ् स्मृति पुरस्कारिता पुरस्कार टिवि विरहीलाई, तारा न्यौपाने स्मृति पुरस्कारिता पुरस्कार गोपाल बुढाथोकीलाई, फणिन्द्र दाहाल स्मृति पुरस्कारिता पुरस्कार दामोदरप्रसाद दवाडीलाई प्रदान गरिएको थियो । फोटो अकिल महर्जन