मङ्लबार, बैशाख १८, २०८१

नेतालाई नै पुगेन ४१ लाख दाइजोले

मजफो लोकतान्त्रिकका नेता सञ्जिव साहद्दारा बुहारीलाई गालीबेइज्जती गर्दै घरेलु हिंसा अख्तियार

काठमाडौं चैत १, ४१ लाख दाइजो लिएर पाइलट छोराको बिहे गरेका यस क्षेत्रका एक नेताले केटी पक्षसँग थप १३ लाखको माग गर्दै बुहारीलाई माइत पठाएका छन् ।  सिरहाको गोलबजार निवासी व्यापारी हरिनारायण साहले आफ्नी छोरी रेखा साहको बिहे ८ महिना पहिले जनकपुर उपमहानगरपालिका ९ बस्ने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता सञ्जिव साहका कान्छा छोरा पाइलट श्रवण साहसँग गरेका थिए ।  बिहेको बेला नेता साहले आफ्ना छोरालाई दाइजो स्वरूप ४१ लाख नगद र सुनचाँदीका गरगहना माग गरेका थिए । सोही अनुसार केटीका बाबु साहले ३६ लाख रुपैयाँ बैंकमार्फत र अरू नगद गरी दाइजो दिएका थिए ।

Daijo-marriage-तर अहिले आएर केटा पक्षले थप दाइजो माग गर्दै बुहारीलाई गालीबेइज्जती र घरेलु हिंसा गर्न थालेपछि रेखा माइत फर्केकी छन् भने न्याय खोज्दै केटीपक्ष प्रहरीसँग पुगेको छ । बिहेमा करिब ६० लाखभन्दा बढी खर्चेका केटीका बाबु हरिनारायणले केटा पाइलट भएको र छोरीको सुखद भविष्यको कामना गर्दै सकेसम्म खर्च गरेको बताए ।  त्यो बिहेमा केटा जन्तीसँगै हेलिकोप्टरमा आएका थिए । बिहे भएको ४ महिनामात्रै ससुराली बसेकी आफ्नी छोरीलाई उनका ससुरा सञ्जिव, सासू चन्दा र श्रीमान् श्रवणले गालीबेइज्जती गर्दै थप दाइजो मागेर ल्याउन र नसके उतै बस् भनेर हिंसा गर्न थालेपछि अहिले छोरीलाई माइतमा राखेको हरिनारायणले सुनाए ।  आफूले सकेसम्म बिहेमा खर्च गरेको र अब रकम दिन सक्ने आर्थिक अवस्था नरहेको सम्धिनेता सञ्जिवसँग अनुरोध गर्दा उनले टेलिफोनमा नै अश्लिल शब्द प्रयोग गर्दै गाली बेइज्जती गरेको हरिनारायणले बताए ।  उनले आफ्नी छोरीलाई बिहेको बेला पढाइ लेखाइको सम्पूर्ण व्यवस्था आफूहरूले गर्ने भनेर केटाका अभिभावकले स्वीकार गरे पनि अहिले आएर छोरीले फेसबुक चलाउँदा वा पढ्ने इच्छा राख्दा पनि उसलाई गाली गर्ने गरेको बताए ।

हरिनारायणले छोरीलाई न्याय दिन प्रहरीसमक्ष गुहार गरे । प्रहरीले छलफलमा बोलाइएका केटाका बुबा सञ्जिवले आफूले छोराको बिहेमा दाइजो लिएको तर त्यो सामाजिक चलन रहेकोले त्यसलाई ठूलो मुद्दा बनाउन नहुने तर्क गरे । उनले अहिलेको आफूले कुनै प्रकारको दाइजो नमागेको र बुहारी बिनाकारण माइत गएर बसेको बताए ।  नेता साहले बुहारीले फेसबुकमा थुप्रै पुरुषहरूलाई साथी बनाएको जानकारी अआएपछि विवाहित महिलाले परपुरुषसँग कुराकानी नगरोस् भन्ने मान्यताका फेसबुक नचलाउन अनुरोध गरेको स्वीकारे । उनले आफ्नो छोरा तालिमको क्रममा हाल साउथ अफ्रिकामा रहेको र छोरा आएपछि बुहारीलाई ल्याउने बताए ।  धनुषाका प्रहरी उपरीक्षक रामदत्त जोशीले नेपालको कानुन अनुसार दाइजो लिने र दिने दुवै अपराधी रहेकाले दाइजो लिए दिएको प्रमाण फेला परे दुवै पक्षलाई कानुनको दायरामा लिएर मुद्दा चलाउने बताए । -मनिका झा, अन्नपूर्ण पोष्ट दैनिकबाट