काठमाडौं आश्विन ५, नेपाल पत्रकार महासंघले तराई÷मधेसमा जारी आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्याको अध्ययन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका लागि महासचिव उजिर मगरको संयोजकत्वमा गठित ‘मिडिया मिसन टोली’ ले स्थलगत भ्रमण पछि आज स्थलगत अध्ययनबाट प्राप्त ५ बुँदे प्रतिवदेन आज सार्वजनिक गरिएको छ ।
प्रतिवेदनमा मिसनले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा भाद्र २९ देखि आश्विन १ गतेसम्म स्थलगत अध्ययन गरेको जनाउँदै प्रतिवेदनमा मध्य तराई/मधेस क्षेत्रमा जारी आन्दोलन, बन्द हड्ताल तथा कतिपय क्षेत्रमा जारी निषेधाज्ञा, दङ्गाग्रस्त क्षेत्रको घोषणालगायत अवस्थाले सञ्चारकर्मीको आवागमन र सञ्चारमाध्यमको वितरण प्रणाली सहज हुन नपाउँदा त्यस क्षेत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नराम्ररी कुण्ठित हुन पुगेको र ती क्षेत्रमा कार्यरत पत्रकार सरकारी र आन्दोलनकारी दुवै पक्षको दबाबका साथै भौतिक आक्रमण तथा मानसिक त्रास र धम्कीको सामना गर्न बाध्य रहेका कारण असुरक्षित महसुस गरिरहेको उल्लेख गरिएको छ ।
महासचिव मगरको नेतृत्वमा केन्द्रीय सदस्यत्रय सुरज आचार्य, अजय अनुरागी, शीतल महतो, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, प्रेस चौतारी नेपालका महासचिव माधव नेपाल र क्रान्तिकारी पत्रकार सङ्घका केन्द्रीय सदस्य जनार्दन पोखरेलसहित सहभागि रहेको महासंघका सचिव प्रभात चलाउँनेद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।