काठमाडौ आषाढ ३० , सरकारले २०७२/०७३ को वजेटमा नेपाल पत्रकार महासङ्घका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाममा ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’स्थापना गर्ने, सञ्चार गृह र विद्युतीय सञ्चार माध्यमहरूको आगामी वर्षको रोयल्टी दस्तुरमा ५० प्रतिशत छुट दिनुका साथै नवीकरण शुल्क पूरै मिनाहा गर्ने बजेटमार्फत घोषणा गर्ने सरकारको निर्णयलाई नेपाल प्रेस युनियनले स्वागत गरेको छ।
त्यस्तै प्रेस युनियन महासचिव अजयबाबु शिवाकोटीद्दारा जारी प्रेसनोटमा हालैको भुकम्पको समयमा सूचना सम्प्रेषणमा संचार माध्यमले पुर्याएको योगदान समेतको कदर गदै सरकारले गरेको यो निर्णयको युनियनले स्वागत गरेको हो। साथै सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गर्ने भनिएको ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ लाई तत्काल कार्यान्वयनमा ल्याउन युनियनले माग समेत गरेको छ ।
यसअघी असार २४ गते नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देलको नेतृत्वमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही, विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्षहरु रमेश तुफान, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा र समीरजङ्ग शाह सहित युनियनका पदाधिकारीहरुको प्रतिनिधीमण्डलले प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरि महासङ्घका संस्थापक सभापति कृष्णप्रसाद भट्टराईको नाममा ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्न माग गरेको थियो । भेटमा प्रधानमन्त्री कोइरालालेयुनियनको माग वमोजिम सन्त नेता भट्टराईको नाममा ‘राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान’ स्थापना गर्न आफू सकारातम्क रहेको विश्वास दिलाउनुभएको थियो । यसैगरि नेपाल प्रेस युनियनको धुलिखेलमा असार २६ गते सम्पन्न केन्द्रिय समितिको वैठकले पनि भट्टराईको नाममा प्रतिष्ठान स्थापना गर्न माग गरेको थियो।
राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानलाई जीवन्त, आस्थाको केन्द्र र प्रेरणादायी बनाउन नेपालमा स्वतन्त्रता र जनाधिकारको लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष, नेपाल पत्रकार महासंघका संस्थापक सभापति तथा सन्त नेता कृष्ण प्रसाद भट्टराईको नाममा स्थापना गर्न भुमिका निर्वाह गर्ने प्रधानमन्त्री शुसिल कोइराला, अर्थमन्त्री डा रामशरण महतलाई युनियनले धन्यवाद दिएको छ। बजेटमा यो व्यवस्था गर्न विभागिय मन्त्रीको रुपमा सञ्चारमन्त्री तथा नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख डा मिनेन्द्र रिजालको सकारात्मक योगदानप्रति युनियनले कृतज्ञता ज्ञापन गरेको छ।