शनिबार, बैशाख २२, २०८१

चर्को विवादपछि सभासद राउतले ग्रिनकार्ड फिर्ता गरिन

काठमाडौं माघ १९, राष्ट्रिय मधेस समाजवादी पार्टीकी प्रमुख सल्लाहकार एवं सभासद निर्जला राउतले आफ्नो ग्रिनकार्ड नेपालस्थित अमेरिकी दूतावासमा फिर्ता गरेकी छन् । अमेरिकाको ग्रिनकार्ड लिइसकेकी राउत सभासद भएको भन्दै पार्टीभित्र र बाहिर विवाद भएपछि उनले दूतावासमा आफैं गएर बुझाएकी हुन्

गुगल फोटो
गुगल फोटो

।  ग्रिनकार्ड अमेरिकामा स्थायी बसोबास गर्न दिइने अनुमतिपत्रका अतिरिक्त त्यहाँको नागरिकता पाउने प्रक्रिया हो । उनी भारतीय मूलका अमेरिकी नागरिक क्रिस क्रिस्ननकी पत्नी हुन् । क्रिस अमेरिकामै बस्छन् । रामसपाले ग्रिनकार्ड होल्डरु राउतलाई संविधान निर्माण गर्ने संविधानसभाकै सदस्य बनाएको र अमेरिकी नागरिक हुने क्रममा रहेको व्यक्ति कसरी नेपालप्रति बफादार हुन सक्छन् भन्ने राजनीतिक तथा नैतिक प्रश्न उठ्ने समाचार प्रकाशित भएपछि उनी विवादमा तानिएकी थिइन् ।

राउतले पहिला पतिसहित छोराछोरी सबै अमेरिकी नागरिक र ग्रिनकार्ड होल्डर भए पनि आफूले चाहिँ नलिएको दाबी गरेकी थिइन् । पार्टी नेताहरूको आग्रहमा उनले संविधानसभाको सदस्यका रूपमा शपथ लिनु दुई दिनअघि ग्रिनकार्ड फिर्ता गरेकी हुन् । शपथ लिनुअघि नै उहाँले आफ्नो ग्रिनकार्ड फिर्ता गरिसक्नुभएको छ, रामसपा अध्यक्ष शरतसिंह भण्डारीलाइ उदृत गर्दै आजको कान्तिपुर दैनिकले समाचार छापेको छ । अमेरिकी दूतावासले ग्रिनकार्ड आफ्नो देशमा पठाएपछि कानुनतः उनको अमेरिकी नागरिकता लिने प्रक्रिया रद्द हुने जानकारीसमेत स्रोतले दिएको छ ।

ग्रिनकार्ड लिएकी राउतलाई अध्यक्ष भण्डारीले समानुपातिकतर्फबाट सभासद बनाएपछि पार्टी पदाधिकारीले विरोध गर्दै उनको नाम सूचीबाट हटाउन तीव्र दबाब दिएका थिए । तर भण्डारीले उल्टै विरोध गर्नेहरूलाई जिम्मेवारीबाट हटाउँदै केन्द्रीय समिति नै भंग गरेका थिए । महासचिव रामेश्वर साहले भने भण्डारीले सभासद बिक्री गरेको आरोप लगाउँदै पार्टीबाटै राजीनामा दिएका थिए ।