मङ्लबार, बैशाख १८, २०८१

विविध नितिगत निर्णय सहित काठमाडौँ महानगरको १२ औँ नगर सभा सम्पन्न

काठमाडौँ माघ ६,
काठमाडौँ महानगरको गत पुस २९ बाट शुरु भएको नगर सभा १२ औँ अधिवेशन आजबाट समापन भएको छ । महानगर प्रमुख बालेन्द्र साहकोे अध्यक्षता आज बसेको नगरसभाको दोस्रो बैठकले आर्थिक ऐन २०७९, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक २०७९ कर्मचारी सेवा ऐन २०७७ संशोधन गर्न बनेका विधेयक र सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७९ समेत पारित गरेको छ ।

त्यस्तै बैठकमा ११ औँ नगर सभाबाट चालु आर्थिक बर्षका लागि स्वीकृत कार्यक्रममध्ये ४ अर्व ३६ करोड ७१ लाख ७ हजार बजेटका कार्यक्रम संशोधनका लागि महानगरकी उपप्रमुख सुनिता डगोलले पेश गर्नुभएको २ अर्व ७२ करोड ६९ लाख ६३ हजार रुपैयाँको बजेट तथा कार्यक्रम संशोधनसहितको प्रस्ताव पारित गर्नुको गरेको छ।

त्यस्तै बैठकले यसअघि जनस्वास्थ्य विभागमा रहेको खाद्य गुणस्तर तथा पशुपंक्षी महाशाखा तथा अन्तर्गतका शाखाहरु र वातावरण व्यवस्थापन विभागसँग रहेको कृषि महाशाखालाई एकिकृत गर्दै कृषि तथा पशुपंक्षी विभाग गठन गरेको छ भने लेखा परीक्षण तथा समपरीक्षण एकाईलाई लेखा परीक्षण एकाई कायम गरिएको छ । कानुन तथा मानव अधिकार विभाग मातहतमा रहेको मिसिल शाखालाई सहरी व्यवस्थापन विभाग अन्तर्गत लगिएको छ ।

त्यस्तै महानगरको संगठन र दरबन्दी संरचनाका पुनरावलोकनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी दिने निर्णय गरेको छ।