मङ्लबार, बैशाख १८, २०८१

महानगर प्रमुख बालेन्द्रलाइ हाम्रो नेपाली पार्टीसंगको सम्बन्ध स्पष्ट पार्न आयोगको निर्देशन

काठमाडौं कार्तिक १९,
निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख साहको समर्थन रहेको भनी गरेको प्रचारप्रसारबारे स्पष्ट पार्न निर्देशन दिएको छ ।

महानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भई कार्यभार सम्हालेको अवस्थामा उक्त दलसँग कुनै आवद्धता नै रहे भएको जस्तो गरी साहको तस्वीर र नाम निरन्तर प्रयोग भइरहेको विषयमा आयोगले ध्यानाकर्षणसहित महानगर प्रमुख साहलाई पत्र पठाएको हो ।

आयोगले सालाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईंको कुनै आवद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आवद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन? स्पष्ट पार्न भनिएको छ ।

त्यस्तै आयोगले पठाएको पत्रमा निर्वाचन आयोग कुनै पनि तवरबाट निर्वाचनको स्वच्छता र निष्पक्षता कायम रहोस् भनी सदैव चासो राख्दछ । संविधान र प्रचलित निर्वाचनसँग सम्बन्धित कानूनको आधारमा निर्वाचन सम्पन्न गर्ने क्रममा ऐन कानूनको परिकल्पना भन्दा बाहिरका उपायहरू प्रविधिमार्फत अवलम्बन गरी निर्वाचन कानून बाहेकका कानूनको उल्लंघन हुनसक्ने विषयमा समेत सचेत रहेको स्पष्टीकरण पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै उल्लेखित सन्दर्भमा हाम्रो नेपाली पार्टीसँग यहाँको कुनै कानूनी सम्बन्ध रहेको भन्ने आयोगमा रहेको उक्त दलको अभिलेखबाट नदेखिएको अवस्थामा सोही तथ्यमा विश्वस्त हुँदै पत्र प्राप्त भएको दुई दिनभित्र जवाफ उपलब्ध गराइदिन भनेको छ ।