काठमाडौ माघ २०,
अवैध रुपमा भन्सार छलि ल्याएको १ किलोग्राम १ सय ५५ ग्राम सुन र ५ थान आईफोन १३ प्रो म्याक्स मोबाइल सहित ३ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका अभियुक्तहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद गरेको छ ।
प्रहरीले पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका–१० का ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरिका २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोकको भोटेकोसी गाउँपलिका–३ का दावाछिरिङ शेर्पा रहेको जनाएको छ ।
प्रहरीका अनुसार एयर अरेबियाको उडानद्वारा सारजाहबाट आएका दावा छिरिङ शेर्पालाई मलद्वारभित्र लुकाएको १ किलोग्राम ५५ ग्राम तौल बराबरको ३ थान अर्धठोस सुन सहित पक्राउ परेको हो।
त्यस्तै हिमालयन एयरलाइन्सद्वारा दुबईबाट आएका सुनिल कुमार साहलाई ५० ग्राम बराबरको १ थान बेरुवा औँठी तथा १ थान सिक्री र ४ थान आईफोन र दुबईबाटै सोही एयरलाइन्समा आएका नबराज परियारलाई ५० ग्राम बराबरको २ थान बेरुवा औंठी र १ थान आईफोन सहित प्रहरीले फेला पारी पक्राउ गरेको जनाएकोछ ।
साथै प्रहरीले अभियुक्तहरुलाइ बुधबार अपराह्न पक्राउ गरेको भए पनि आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया पूरा गरी आज सार्वजनिक गर्दै
तीनै जनालाई बरामद सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई बुझाइएको छ ।