मङ्लबार, बैशाख १८, २०८१

महासंघ उपत्यका प्रदेशद्वारा ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ गठन

काठमाडौं बैशाख २१ ,
नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिद्वारा ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ [सिभिसिसी] गठन गरेको छ । सोमबार समितिको अध्यक्ष श्रीजन झाको अध्यक्षतामा बसेको भर्चुअल बैठकले सिभिसिसी गठनको निर्णय गरेको हो । कोभिड–१९ ले प्रदेश समिति मातहतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड सङ्क्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय लगायतको काम गर्नका लागि अध्यक्ष झा संयोजक रहने गरी संयोजन समिति गठन गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा संयोजन समितिमा महासचिव टेनिस रोका, सचिव रोशनराज पाण्डे र सदस्य विष्णु निश्चलसहित महासंघ काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका अध्यक्षहरू सदस्य रहेको समितिका महासचिव टेनिस रोकाद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विज्ञप्तिमा काठमाडौँ, ललितपुर र भक्तपुर शाखालाई कोभिड–१९ को विषयसँग सम्बन्धित कार्य गर्न सक्रिय समिति गठन गरी स्वास्थ्य सावधानीसहित काम गर्न र आफू मातहतका सदस्यलाई कोभिड सङ्क्रमण भए त्यसको दैनिक तथ्यांक संकलन गर्न, सङ्क्रमितको अवस्था के कस्तो रहेको हो त्यसको विवरण संकलन गर्न, होम आइसोलेसन वा हस्पिटल के कहाँ रहेको हो त्यसको जानकारी राख्न र सोको दैनिक विवरण प्रदेश समिति तथा सिभिसीसीलाई उपलब्ध गराउन समेत निर्देश गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै बैठकले उपत्यका प्रदेश पत्रकार कोभिड राहत कोष’ स्थापना गरेको छ । कोष संयोजन समितिको संयोजक कोषाध्यक्ष अर्जुन पन्त र सदस्यहरूमा रत्न श्रेष्ठसहित तीन जिल्लाका कोषाध्यक्ष रहेने व्यवस्था गरिएको उल्लेख गर्दै प्रदेश कार्य समितिले तय गरिएको मापदण्ड अनुरुप कोषमा उपलब्ध रकम सङ्क्रमित पत्रकारलाइ सहयोग स्वरुप उपलब्ध गराइने र कोषमा सहयोगका लागि सरकारी तथा निजी सबै निकायसँग अनुरोध समेत गरेको छ ।

यसै गरी, उपत्यका प्रदेशको समन्वयमा मिसन मिडिया क्लवद्वारा गरिएको कोभिड बिमा अन्तर्गत बिमितसँग निश्चित रकम कट्टा गरी सोहि कोषमा जम्मा गरिने उल्लेख गर्दै सञ्चारगृहहरुलाई श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीहरूलाइ नियमति न्यूनतम पारिश्रमिक सहितको सेवा सुविधा उपलब्ध गराउन अनुरोध गर्दै कोभिडको बहानामा जबरजस्ती पत्रकारलाइ निष्कासित नगर्न र बिदामा राख्ने काम नगर्न आग्रह गरिएको छ ।