शनिबार, बैशाख १५, २०८१

जनप्रतिनिधिले गठबन्धन होइन जनताको आवश्यकता हेरेर काम गर्नुपर्छ : सांसद थापा

भक्तपुर चैत्र १४,
प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले जनप्रतिनिधिहरुले गठबन्धन होइन जनताको आश्यकता हेरेर काम गर्नुपर्ने बताउनुभएको छ । मध्यपुर थिमि नगरपालिकाको २८ औं स्थापना दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा सांसद थापाले निर्वाचनमा दलगत रुपमा उम्मेदवार बनेपनि निर्वाचित भएपछि जनताको प्रतिनिधि हुने भएकाले गठबन्धनमा कुन कुन दल छन भन्ने हिसावले नभई जनताको आवश्यकताको आधारमा काम गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचनमा एउटा गठबन्धनमा बसेर भोट माग्ने र निर्वाचनपछि अर्को गठबन्धन बनाउने राजनैतिक बेइमानी भएको बताउँदैं आफु जुन गठबन्धनको मतले निर्वाचित भएको हो सोही अनुसार ५ वर्ष काम गर्ने प्रतिवद्धता जनाउनुभयो । “सरकार गठनका लागि गठबन्धन बन्ने र भत्किने क्रम चलिरहन्छ तर म ईमान्दार पूवर्क भन्छु । जुन गठबन्धनबाट निर्वाचित भएको हो । ५ वर्ष सोही अनुसार काम गर्छु,” उहाँले  भन्नुभयो ।

त्यस्तै उहाँले विकास निर्माणमा बढी भन्दा बढी स्थानीय तहलाई क्रियाशिल हुने गरी ऐन कानून र नीति नियम बन्नुपर्नेमा जोड दिन सकेमात्र जनताले लोकतान्त्रिक सरकारको अनुभुती गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा नगरपालिकाले प्रकाशन गरेको हाम्रो मध्यपुर थिमि बुलेटिनको विमोचन गर्नुका साथै ई सिफारिसको शुभारम्भ समेत गरिएको थियो ।

त्यस्तै कार्यक्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आफ्नो दुई वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खेलकुद, सहकारी, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरेका कार्यको विस्तृत विवरण प्रस्तुत गर्दै नगरपालिकामा सुशासन कायम गरी पारदर्शी ढंगले सेवा प्रवाहमा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद भावना श्रेष्ठ , उपप्रमुख विजयकृष्ण श्रेष्ठ राजनैतिक दलहरुका तर्फबाट नेपाली कांग्रेसका नगरसभापति हरिदास प्रजापति ,प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ मध्यपुर थिमि नगरपालिकाका पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठ, पूर्व उपप्रमुखहरु मुरारी प्रसाद आचार्य र अञ्जनादेवी मधिकर्मी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, नगर प्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यलगायतले नगरपालिकाले गतिविधि सुशासन मैत्री र पारदर्शी हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा नगरपालिकाले उत्कृष्ट करदाताको रुपमा वडा नं. ३ का किरण बहादुर थापा, उत्कृष्ट उपभोक्ता समितितर्फ धपाहिटी परिसर सुधार उपभोक्ता समिति वडा नं. १, उत्कृष्ट सामूदायिक विद्यालयतर्फ आदर्श मावि , उत्कृष्ट संस्थागत विद्यालयतर्फ जनप्रेमी वल्र्ड स्कुल कौशलटार र उत्कृष्ट कर्मचारीको रुपमा राजश्व शाखाका प्रमुख रविन श्रेष्ठ , नगरका सडक कालोपत्रे गर्ने कार्यमा समन्वयकारी भूमिका निर्वाह गरी सहयोग गर्नुहुने सूर्यविनायक धुलिखेल सडक आयोजनाका प्रमुख डि.ई. राजेन्द्र दास र ईं गंगारा महर्जनलाई सम्मान गरिएको थियो ।

यसैगरी उमेर हदका कारण सेवा निवृत्त हुनुभएका महिला स्वास्थ्य स्वयम् सेविकाहरु ५ जनालाई जनही नगद एक लाखसहित सम्मान गरिएको थियो भने एक वर्षको अवधीमा अवकास प्राप्त गरेका कर्मचारीहरु शुभ लक्ष्मी श्रेष्ठ, भवानी काफ्ले, सुन कुमार राउत, हरि लक्ष्मी श्रेष्ठ र गंगाराम धेकेलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो भने जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुहुने बालकराम श्रेष्ठलाई पनि सम्मान गरिएको  थियो । साथै स्थापना दिवसकै अवसरमा मध्यपुर थिमिले नगरका प्रत्येक वडाबाट एक जना महिला र एक जना पुरुष गरी १८ ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ ।