शनिबार, बैशाख १५, २०८१

फोटो प्रदर्शनीले चीनको कलासंस्कृति र सभ्यताको उजागरण: उपसभामुख

 काठमाडौं चैत १२ ,

संघीय संसदकी उपसभामुख इन्दिरा राना मगरले चीनको गान्सु प्रदेशको फोटो प्रदर्शनीबाट प्राकृतिक सुन्दरतासंगै त्यहाँको कला, संस्कृति र सभ्यताको उजागर भएको बताएकी छिन् ।

गान्सु मोर्डन फोटोग्राफीको आयोजना तथा नेपाल चाइना फ्रेन्डसिप फोरम, राष्ट्रिय फोटो पत्रकार समुह र नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलको सहकार्यमा पाटन दरबार सङ्ग्रहालयमा आज भएको फोटो प्रदर्शनीको सुभारम्भ सत्रमा वोल्दै उहाँले आफू चीनमा पुग्दा त्यहाँको रहनसहन र परम्परागत संस्कृतिसंग साक्षात्कारको अवसर पाएको स्मरण सुनाउँनुभयो ।

साथै उहाँले प्रदर्शनीमा राखिएका फोटोले देशमा आएको परिवर्तनसंगै देशको भौगोलिक सीमाना कोरिए पनि मानवीयताको कुनै सिमाना हुँदैन भन्ने कुरा प्रष्ट पारेको बताउनुभयो ।

गान्सु मोर्डन फोटोग्राफी समाजका उपाध्यक्ष वाङ ज्यान सिनले फोटोग्राफीको विकास, प्रवद्र्धनमा लागेको आफ्नो संस्थाबाट विश्व सम्पदा सूचीमा प्रदर्शनी गर्न पाएकोमा खुसी व्यक्त गर्दै फोटो प्रदर्शनीबाट दुई देशबीचको कला, संस्कृति र सभ्यताको जानकारी आदानप्रदान हुनुका साथै दुई देशका फोटो पत्रकारका संस्थाबीचको सहकार्यले एकले अर्को देशको नागरिकस्तरमा सम्बन्ध कायम गर्ने अवसर मिलेको बताए ।

राष्ट्रिय फोटो पत्रकार समाजका अध्यक्ष प्रदीपराज वन्तले प्रदर्शनीले चाइनाको अनुभूति दिलाउँदै नेपाल र चाइनाबीचको पर्यटनलाई प्रवद्र्ध्न गर्नुको साथै दुई देशबीच सामिप्यतालाइ थप विस्तार गर्ने बताए ।

नेपाल चाइना फ्रेण्डसीप फोरमका अध्यक्ष डा कल्याणराज शर्मा नेपाल चाइना कल्चर एण्ड एजुकेसनल काउन्सिलका अध्यक्ष डा हरिश्चन्द्र शाह लगायतले फोटो प्रदर्शनीको विषयमा आफ्नो धारणा अभिव्यक्त गर्नुभएको थियो ।