शनिबार, बैशाख १५, २०८१

उम्मेदवारीको घोषणासंगै ह्वात्तै बढ्यो उपनिर्वाचनको सरगर्मी

काठमाडौं चैत १२ ,
इलाम २ र बझाङ प्रदेश सभा ‘१’ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेदवारी दर्ताको मिति नगिचिएसंगै निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ ।  आइतवार बसेको सत्ता साझेदार दल नेकपा एमालेले इलाम २ एमाले नेता स्व सुवास नेम्बाङका  छोरा सुहाङ नेम्वाङ बझाङको प्रदेश १ मा हुने उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाइ उम्मेदवार बनाउँने निर्णय गरेसंगै निर्वाचनको सरगर्मी ह्वात्तै बढेको हो ।

विगतमा जस्तो यो निर्वाचनमा सत्तागठबन्धनको साझा उम्मेदवार नहुने भएपछि नेकपा एमालेले आफ्नो एकल उम्मेदवारको घोषणा गरेको हो । यसवीचमा नेपाली काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेपनि नितिगत निर्णय भने गरेको छैन ।  इलाम–२ मा नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका सात जना उम्मेदवारमा क्रमस भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन् ।

सिफारिस उम्मेदवारमध्ये डम्बरबहादुर खड्काले यसअघिको निर्वाचनमा २९ हजार नौ सय ६ मत प्राप्त गर्दैगर्दा एमालेका उम्मेदवार स्व नेम्वाङले ३० हजार २० मत प्राप्त गरि झिनो मतान्तरमा निर्वाचित भएका थिए ।

त्यस्तै आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रमेश प्रसाईंसंगै अनिल केशरी, पत्रकार मिलन लिम्बूको चर्चा रहेको सम्वद्ध स्रोतले जनाएको छ। यसअघिको निर्वाचनमा रास्वपाको उम्मेदवार प्रकाश सापकोटाले एक हजार तीन सय ८० मत प्राप्त गरेका थिए ।

समग्रमा आसन्न् उपनिर्वाचनमा एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच त्रिपक्षीय भिडन्त हुने प्रवल सम्भावना बढेको छ। यसवीचमा नेकपा एमालेसंगै एकाध स्वतन्त्र उम्मेदवारी पनि घोषणा भइसक्दा सत्ताको नेतृत्वकर्ता नेकपा माओवाद केन्द्र , साझेदारदल जसपाको तर्फबाट उम्मेदवारीको चर्चा भएपनि नितिगत निर्णय हुनबाँकी रहेको छ । भने एकीकृत समाजवादीले उम्मेदवारीको विषयमा निर्णय लिँनका लागि बैठक वोलाएको छ।

निर्वाचन आयोगले तय गरेको निर्वाचन तालिका अनुसार आगामी चैत २४ मा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । कतिपय दल उम्मेदवारी दर्ताको समयसिमा भित्र पर्ख र हेरको निति अनुरुप उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको बुझिएको छ ।