बिहिबार, बैशाख २७, २०८१

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुन पक्राउ

काठमाडौं चैत २,
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ परेका छन् । ६० किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पुनलाई प्रहरी मुख्यालयको विशेष टोलीले काठमाडौंको टोखास्थित धापासीबाट शुक्रबार साँझ पक्राउ गरेको हो ।

बिहीबार गृहमन्त्रीसमक्ष पेस गरिएको सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पुनको संलग्नता औँल्याएको छ। गृहमन्त्रीलाई आयोगले प्रतिवेदन बुझाए लगत्तै प्रहरीले पुनलाई पक्राउ गरेको हो।

 दिपेश ६० किलो सुन तस्करीका मुख्य आरोपीमध्येका एक चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङसँग निकट सम्बन्ध रहेका व्यक्ति हुन् । त्यस्तै  उपराष्ट्रपतिका अर्का छोरा जितेन्द्र पुन पनि सुन तस्करीमा संलग्न रहेको प्रमाणहरु यसअघि विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक भएसंगै उनको पनि खोजी भइरहेको प्रहरी स्रोतले  जनाएको छ।

त्यस्तै माओवादी केन्द्रकै अर्का नेता कृष्णबहादुर महराका छोरा राहुल पनि विद्युतीय चुरोट [भेप] बाट भएको ९ किलो सुन तस्करी प्रकरण अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका छन् ।