शनिबार, बैशाख १५, २०८१

खानेपानी मर्मत योजनामा भ्रष्टाचार गर्ने अध्यक्षसहित नौजनाविरुद्ध मुद्दा दायर

 काठमाडौं चैत १ ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिका–३ स्थित ब्याफु खानेपानी मर्मत योजनामा पाँच लाख १५ हजार १०८ रुपियाँ भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आर्थिक वर्ष २०७४/ ०७५ ब्याफु खानेपानी मर्मत योजनामा छुट्टाइएको रकम उनिहरुले योजना मर्मतको काम नभए पनि काम भएको भनी कार्य सम्पन्न प्रतिवेदन बनाएको, झुटा बिल भरपाई तयार गर्दै सरकारी रकम हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएसंगै अख्तियारले गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित नौ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिनुभयो ।

अख्तियारले मुद्धा दायर गरेकाशरुमा क्रमस गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब इन्जिनियर हर्कधन बुढा रहेका छन ।

त्यस्तै उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष विरकुल्ली बुढा र वडा नं ३ का वडाध्यक्ष शालिग्राम ऐडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।