शनिबार, बैशाख १५, २०८१

मृगौला प्रत्यारोपणका लागि मेडिसिटी

  काठमाडौं फागुन २९,

नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाख मानिसमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीन लाख मानिसको मृगौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागि थपिने गरेका छन् ।

यही समस्यालाई दृष्टिगत गर्दै नेपाल मेडिसिटी अस्पतालमा गत वर्षदेखि सुरु भएको मृगौला प्रत्यारोपण सेवा अन्र्तगत हालसम्म अस्पतालमा २३ जना बिरामीको मृगौला प्रत्यारोपण गरिसकेको छ भने ९ जना प्रत्यारोपणको पर्खाइमा रहेको अस्पतालले जनाएको छ।

विश्व मृगौला दिवसको अवसरमा मृगौला रोगको निदान तथा उपचारमा सम्पूर्ण नागरिकको सम्मान पहुँच रहेकोमा यस अस्पतालबाट पनि सकेसम्म धैरै भन्दा धेरै मृगौला रोगीहरुको पहिचान गर्न सर्वसुलभ तथा साधारण नागरिकको पनि पहुँचमा पुग्नेगरी उपचार विधिहरु अपनाइएको जनाउदै अस्पताले सेवाका लागि बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेको जनाएको छ।

साथै प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मृगौला दान दिएको र मृगौला दान गर्नेमा महिला बढि रहेका छन् । दान गर्नेमा १६ जना महिला र ७ जना पुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेको अस्पतालले जनाएको छ।

अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मृगौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए ।

डायलासिस:
दुबै मृगौला खराब भइसकेपछि गरिने डायलासिस पनि जिन्दगीभर गर्नुपर्ने हुन्छ र यसको उपयुक्त उपचार भनेकै मृगौला प्रत्यारोपणलाई मानिन्छ । तर प्रत्यारोपण गर्न बिरामीको घर जमिन बिक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था   रहन्छ ।

 कति लाग्छ प्रत्यारोपण खर्च :
मृगौला प्रत्यारोपणका लागि सरकारले पाँच लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूल खर्च ७ देखि ८ लाख पर्दछ । नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मृगौला दाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउने बताए ।