शनिबार, बैशाख १५, २०८१

नेपालमै पहिलोपटक MRCP UK PACES परीक्षा सञ्चालन

 काठमाडौं फागुन २४,

नेपालमै पहिलो पटक MRCP UK PACES परीक्षा नेपाल मेडिसिटी अस्पतालमा सम्पन्न भएको छ । बेलायतबाट आयोजना गरिने यस परीक्षामा नेपाल मेडिसिटी अस्पताललाई केन्द्र बनाइ परीक्षा सञ्चालन गरिएको हो । परीक्षा फागुन २२, २३ र २४ गते तीन दिनसम्म चलेको थियो ।Federation of the Royal College of Physicians, UK  को विश्वव्यापी मापदण्ड अनुसार परीक्षा सञ्चालन गरिएको हो ।

परीक्षामा नेपाल, बंगलादेश, मलेसिया, भारत र टर्कीबाट ४० जना परीक्षार्थी चिकित्सक सहभागी भएका थिए । त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १२ जना परीक्षकहरुको उपस्थिति रहेको थियो ।

हाल धेरै चिकित्सकहरूले प्रस्तुत परीक्षाका लागि लिन र MRCP UK योग्यता पूरा गर्नको लागि बेलायतको यात्रा गर्नुपर्ने अवस्था विद्यमान रहेको थियो । यसवीचमा नेपालमानै परीक्षाको लागि केन्द्र खोलिँदा त्यस्ता सबै चिकित्सकहरूलाई आफ्नै देश या नजिकको केन्द्रमा परीक्षा दिने वातावरण बनेको छ ।

नेपाल मेडिसिटीमा MRCP PACES परीक्षा केन्द्र खोल्दा स्नातकोत्तर तालिम र कुनै अतिरिक्त शुल्क बिना अन्तर्राष्ट्रिय मान्यता प्राप्त डिग्री प्राप्त गर्ने नयाँ अवसरहरू खुल्नेछ । यसले लामो समयसम्म नेपालमा विशेषज्ञ डाक्टरको अभावलाई पूर्ति गर्न मद्दत गर्ने वातावरण बनेको छ ।  त्यस्तै परीक्षामा उत्तीर्ण भएसंगै चिकित्सकहरुले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्ने जनाएको छ।

 Federation of the Royal Colleges of Physicians of the United Kingdom का प्रतिनिधिहरू डा. तन्जीम रजा, डा. डोनाल्ड फारुहार, डा. फियोना क्लार्र्क, डा. सत्यन राजभण्डारी र डा. ग्राहम करी परीक्षा निरीक्षणका लागि आएका हुन् ।

युके पेसिस परीक्षामा डाक्टरको क्लिनिकल विशेषज्ञताको मूल्याङ्कन गर्न तथा विशेषज्ञतालाई थप निखार बनाई सीप परीक्षण गरिन्छ । यो फिजिसियन चिकित्सकहरुको प्रयोगात्मक परीक्षा हो । यसमा भाग लिन पहिले दुईवटा लिखित परीक्षामा उत्तीर्ण हुनुपर्ने पेसेस परीक्षा नेपालका लागि प्रमुख निरीक्षक तथा नेपाल मेडिसिटी अस्पतालका सिनियर कन्सल्टेन्ट डा. नीरज जोशीले बताए । परीक्षामा पाँचवटा स्टेशनहरू राखिएका थिए जसको माध्यमबाट परिक्षार्थीहरूलाई उनीहरूको ज्ञान, क्लिनिकल सीप, बिरामीको स्वायत्तता र सञ्चारको सम्मान गर्ने क्षमताको लागि मूल्याङ्कन गरिएको थियो ।
MRCP UK चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त योग्यता हो । यो योग्यता प्राप्त गर्नाले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको प्रमाणित गर्छ ।

परीक्षा अघि Federation of the Royal College of Physicians, UK  ले तोकेको विश्वव्यापी मापदण्ड अनुसार परीक्षाको पूर्व अभ्यास पनि सञ्चालन गरिएको थियो । परीक्षकहरुलाई तालिम दिई परीक्षा सञ्चालन गर्न सक्ने बनाएपछि मात्र यो परीक्षा नेपालमा गरिएको हो ।