शुक्रबार, बैशाख १४, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा, फरार रहेकी अभियुक्त महर्जन पक्राउ

काठमाडौं जेठ १२,
नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको काठमाडौं जिल्ला अदालतमा आजबाट भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखेको छ । सरकारी वकिल कार्यालयले बुधबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको उक्त मुद्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले ‘हेर्दाहेर्दै’मा राखेको हो ।

सरकारी वकिल कार्यालय काठमाडौंले नेकपा एमाले नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी, नेपाली कांग्रेस नेता बालकृष्ण खाण, पूर्व सभासद् आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

यसैवीच नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकी छिन्। जिल्ला प्रहरी परिसर काठमाडौं सम्वद्ध स्रोतका अनुसार महर्जनलाई पक्राउ गरिएको र योसँगै प्रस्तुत प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।