सोमवार, बैशाख १७, २०८१

झापाबाट पक्राउ परेका निरा पाण्डे हत्या प्रकरणका आरोपी सार्वजनिक

काठमाडौ बैशाख १७ ,
निरा पाण्डे आचार्यको हत्यामा संलग्न आरोपीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । कपनस्थित सरस्वती नगरमा करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्दै आएकी आचार्यको वैशाख ७ मा पसलमै हत्या भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पत्रकार सम्मेलन गर्दै वैशाख ७ गते दिउँसो काठमाडौं महानगरपालिका–६ सरस्वती नगरकी निरा पाण्डे आचार्यको हत्याका आरोपित विनोद विकतलाई सार्वजनिक गरेको हो।

  सरस्वतिनगरस्थित निरू किचेन एण्ड गिफ्ट स्वभिनर पसलमा वैशाख ७ गते दिउँसो आचार्यको शरीरको विभिन्न भागहरूमा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको अवस्थामा फेला पारी उपचारको लागि त्रिवि शिक्षण अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजी गर्दै जाने क्रममा घटनामा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय झापाको समन्वयमा झापा बिर्तामोड नगरपालिका-१ ईलाम बस स्टपस्थित सार्वजनिक बाटोमा हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

  केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा  गठित समितिले  सीसीटीभी फुटेजका आधारमा प्रहरीले हत्यामा विकको संलग्नता पुष्टि गरेसंगै प्रहरीले आरोपि विकलाइ झापाबाट पक्राउ गर्दै आजै झापाबाट काठमाडौँ ल्याइएको थियो । उनले सुनको सिक्री लुट्ने क्रममा प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन् ।