बुधबार, बैशाख २६, २०८१

तीन दिन भित्रमा सरकार गठनका लागि दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

काठमाडौं बैशाख १२,
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि वैशाख १४ गते दिनको ४ बजे सम्ममा दावी पेश गर्न आह्वान गर्नुभएको छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा संविधानत कुनै पनि दलको स्पष्ट बहुमत नभएका अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था अनुरुप सरकार गठनको लागि आव्हान गर्नुभएको उल्लेख गरिएको छ ।

वैशाख ९ गते मुख्यमन्त्री नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो ।

यसवीचमा प्राप्त जानकारी अनुसार गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डेले नेकपा माओदीको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्ने तयारी भएको बुझिएको छ ।  त्यस्तै} लुम्बिनी प्रदेशमा समेत नेपाली काँग्रेसका डिल्ली चौधरीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी भएको बुझिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन गरेको अपिल नसकेपछि प्रदेशसभा बैठकबाट अस्वीकृत भएसंगै लुम्बिनी प्रदेशमा नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीको नेतृत्व गर्दै आइरहेको नेकपा एमालेको प्रदेश सरकार ढलेपछि  प्रदेश प्रमुखको कार्यालय नयाँ सरका गठनको लागि आव्हान गरेको  हो ।