बिहिबार, बैशाख २७, २०८१

क्यानडा,इजरायल पठाइदिन्छु भन्दै ६३ लाख ठगी गर्ने विपना,मैनाली र दाहाल पक्राउ

काठमाडौं बैशाख १२,
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१८ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीया विपना कुँवरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि क्यानडा पठाई वयटरमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ९ लाख रुपैयाँ ठगी गरेकोले निजलाइ पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट भएको पत्राचार अनुरुप उनलाई काठमाडौं गोकर्णश्वर जुम्बुडाँडाबाट पक्राउ गरेको हो ।

त्यस्तै इजरायलमा कन्स्ट्रक्सनमा काममा लगाइदिने प्रलोभनमा पारी दीपक दाहालसहित ५ जनाबाट ४८ लाख रुपैयाँ ठगी गरेको आरोप झापाको कमल गाउँपालिका(७ घर भई काठमाडौंको कपन बस्ने ३२ वर्षकी हरिकला दाहाललाइ चावहिलबाट र सिङगापुर पठाइदिन्छु भन्दै ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेको तीनैजनालाइ थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।