आइतवार, बैशाख २३, २०८१

६९ करोड भ्रष्टाचार प्रकरण : कार्यकारी निर्देशक पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं वैशाख ३,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड बढी रकम भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

आयोगले कार्यकारी निर्देशक पौडेलसहित सीडीई नवीनकुमार पोखरेल, सहायक निर्देशक रमेशप्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, लेखा अधिकृत सेवानिवृत्त रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय, प्रबन्ध निर्देशक रोहितमान प्रधान, निर्देशक भुवन महर्जन र प्रबन्ध निर्देशक मित्रलाल गुरौंविरुद्ध मुद्दा दायर गरेको हो ।

आयोगले मुदा दायर गरिएका आरोपीहरुले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइड फ्युल स्टोरेज ट्यांक खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसनको सेटिङ्गमा ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपैयाँ ७० पैसा सरकारी सम्पत्ति हानिनोक्सानी पुर्‍याएको अनुसन्धानको क्रममा खुलेको अख्तियारले जनाएको छ।

ठेक्का प्राप्त गरी बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी भएको भन्ने उजुरीमा अनुसन्धान गर्दा भ्रष्टचारजन्य कसुरमा संलग्न रहेको जनाउ सहित कार्यकारी निर्देशक विकल पौडेलसँग ६९ करोड ८ लाख ८१ हजार ८५४ रुपियाँ बिगो माग दाबी गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।