शुक्रबार, बैशाख १४, २०८१

आज राजनेता गिरिजाप्रसाद कोइरालाको १३औँ स्मृति दिवस विविध कार्यक्रम सहित मनाइदै

काठमाडौं चैत्र ७ ,
नेपालमा तत्कालीन माओवादी सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज १३औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

बोलेको कुरा पु९याउने राजनेता कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पु९याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १३औँ स्मृति दिवस मनाउँदै गरेको हो ।

विसं २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभङ्ग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए । विसं २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्व गरेका थिए ।

कोइरालाकै नेतृत्वमा विसं २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्र अनुरुप विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्न सहमत भएका थिए । आन्दोलन सफल भएपछि उनी चौँथोपटक प्रधानमन्त्री बनेका थिए । पुनःस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रुपमा सीमित गरेको थियो ।  चार पटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यबाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए ।