बुधबार, बैशाख २६, २०८१

तीन घेराको सुरक्षा व्यवस्था सहित आम निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

काठमाडौं मंसिर १,

निर्वाचन आयोगले मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। त्यस्तै आयोगले निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले १० हजार ८९२ मतदान स्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मताधिकार प्रयोग जानकारी दिएकोछ ।

आयोगले आज पत्रकार सम्मेलनको आयोजना गर्दै दिएको जानकारी अनुसार मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि २ हजार ४१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन भने प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ २ हजार १९९ उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम रहेको जानकारीदिएको छ।

त्यस्तै प्रदेश सभातर्फ पहिलो हुने निर्वाचिन हुने निर्वाचन प्रणालीका लागि ३ हजार २२४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुुहुन्छ भने प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ३ हजार ७०८ जना उम्मेदवारको नाम अन्तिम बन्द सूचीमा कायम रहेको जनाएको छ ।

त्यस्तै प्रतिनिधि सभा तथा प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५०० मतपत्र र प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीका लागि ४ करोड ६ लाख ५ हजार गरी कूल ८ करोड ५ लाख ६७ हजार ५०० मतपत्र छपाइ गरी ढुवानी गरिसकिएको जनाउँदै आयोगले मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब २ लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकता अनुसारका सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेको जनाएको छ ।

त्यसैगरी यस अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन समेत नपाइने व्यवस्था छ । त्यसैले आयोगले सामाजिक सञ्जाल तथा अनलाइनमार्फत गरिएका निर्वाचन प्रचारप्रसार सम्बन्धी विज्ञापन हटाउन निर्देशन दिइसकेको छ भने यस्ता विज्ञापनको अनुगमन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिइएको छ ।

साथै यसवीचमा कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानून बमोजिम कारवाही गर्न विशेष निर्देशन जारी गरिएको आयोगले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्‍याउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको जानकारीदिनुको अलावा निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

साथै आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदाताहरूलाई कसैको डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आयोगले आग्रह गरेको छ ।