शनिबार, बैशाख ८, २०८१

निर्वाचनको स्थिर समयमा आचारसंहिता उल्लङ्घन नगर्न काउन्सिलको आग्रह

काठमाडां मंसिर १ ,
प्रेस काउन्सिल नेपालले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज मध्यरात्रीबाट शुरु हुने स्थिर समयमा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ ।

त्यस्तै आम निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती १२ः०० बजेसम्म रहेकोले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमहरूलाई सचेत गराएको हो । काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा आज जारी विज्ञप्तिमा स्थिर समय सुरु हुनुभन्दा अघि सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्वीर , चुनाव चिन्ह अङ्कित झण्डा र ब्यानर, श्रव्यदृश्य लगायतका सामग्री समेटी सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुने हुँदा त्यस्तो कार्य नगर्न र नगराउन हुन सम्बद्ध सबै पक्षसँग अनुरोध समेत गरेको छ।

त्यस्तै जारी विज्ञप्तिमा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म निर्वाचनको प्रचारप्रसार सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन ,प्रसारणर र सम्प्रेषण गर्न पाइने छैन भन्ने निर्वाचन आचारसंहितामा व्यवस्था रहेको उल्लेख गरिएको छ ।

साथै कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सो अघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सुक्ष्म ढङ्गबाट अनुगमन गरिरहेकाले त्यसतर्फ समेत सजगता अपनाउन आग्रह गर्दै काउन्सिलले स्थिर समय आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिने जनाएको छ।

त्यस्तै निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्कन र वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि समेत आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिनेतर्फ समेत यसै विज्ञप्तिमार्फत् सम्वद्ध सबैमा जानकारी गराइएकोछ ।