शुक्रबार, बैशाख १४, २०८१

मतदानस्थल र मतदान केन्द्र केन्द्रीत भएर समाचार सम्प्रेषण गर्न प्रमुख आयुक्तको आग्रह

 काठमाडौं कार्तिक २५ ,
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अबका दिनमा मतदानस्थल र मतदान केन्द्रमा केन्द्रित भएर निर्वाचनमय समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गर्नुभएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा कर्मचारीको व्यवस्थापन गरेर मतपेटिका सहित मतदानस्थलतर्फ जाने प्रक्रिया आरम्भ भइसकेको बताउनुभयो ।

साथै उहाँले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्नेमा सांसद्को भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासन दिइएको पाइएकाले निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको बताउँदै उहाँले निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा पाँच वर्ष मुलुकलाई कता लाने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारहरूको भएको बताउनुभयो ।

त्यस्तै हामी सबैले आफ्नो इमानदारिता कायम गरौँ । निर्वाचन आचारसंहिताको कहीँकतै उल्लघंन नहोस्, उल्लघंनका समाचार बाहिर आउन् । नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउने खालका समाचार प्रवाह गर्नुपर्नेमा जोड दिदै प्रमुख आयुक्त थपलियाले पत्रकारहरूले पनि आचारसंहिताको कति पालना गरेका छन्, त्यसको समेत लेखाजोखा हुनुपर्नेमा जोड दिनुभयो ।