शनिबार, बैशाख १५, २०८१

आयोगले निर्वाचन खर्च प्रकरणमा मनाङ प्रदेश सभाका उम्मेदवार गुरुङलाई सोध्यो स्पष्टीकरण

 काठमाडौं कार्तिक १३ ,
निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजिव गुरुङलाई स्पष्टीकरण सोधेको छ ।

उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ‘‘३० लाखमा नेपालमा चुनाव जित्छ यार‘‘मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो ।

त्यस्तै आयोगले मनाङ प्रदेश सभा क्षेत्र  ‘ख’ उम्मेदवार गुरुङलाइ सोधेको स्पष्टीकरणमा निर्वाचन आचारसहिंता विपरित तपाईंले दिएको अभिव्यक्तिले निर्वाचनको स्वच्छता र निष्पक्षतामा समेत प्रश्न उठाउनुका साथै तपाईंले मनोनयन गर्दाको एक दिनमात्रै रक्सी खुवाउँदा १५ लाख खर्च लाग्ने भनी स्वीकार गरेबाट निर्वाचन आचारसंहिता विपरितका क्रियाकलापलाई इंगित गरेको देखिन्छ ।’ तपाईंले दिएको अभिव्यक्ति प्रचलित निर्वाचन सम्बन्धी कानून र निर्वाचन आचारसंहिताको प्रतिकूल हुने देखिएकोले पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय मनाङमा प्राप्त हुने गरी पेश गर्न भनिएको छ ।

त्यस्तै नेपालको संविधान, कानून र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिवद्धता व्यक्त गर्नुभएको हुँदा तपाईंको अभिव्यक्ति निर्वाचन आचारसंहिता एवं प्रचलित निर्वाचन सम्बन्धी ऐन तथा कानूनको प्रतिकूल हुन्छ, हुँदैन ? भनि स्पष्टीकरणमा सोधिएकोछ ।

साथै आयोगले तोकेको खर्च सीमाभन्दा बढी निर्वाचन खर्च हुने भनी दिएको अभिव्यक्ति प्रचलित निर्वाचन कानून, निर्वाचन आचारसंहिता र आयोगको निर्देशन समेतको विरुद्ध भएको देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ३  र ४  बमोजिम तपाईंलाई कारबाही किन हुनु नपर्ने हो ? र तपाईंले मनोनयनपत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको भनेको रु १५ लाखको सक्कल बिल भौचर, तपाईंले खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैंक तथा खाता नं। र उक्त रकम प्राप्तिको स्रोत समेत खुलाई जवाफ पेश गर्न समेत
भनिएको छ ।