शनिबार, बैशाख १५, २०८१

निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृतिसंगै दुई विधेयक प्रमाणीकरण

काठमाडौं असोज ९,

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय सुरक्षा परिषद्को बैठकको सिफारिस मन्त्रिपरिषद्को भाद्र २७ को निर्णय अनुसार स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ ।

राष्ट्रपति भण्डारीले ‘एकीकृत सुरक्षा कार्ययोजना, २०७९’ मा उल्लेख भएअनुसार सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मकरूपमा सुरक्षा प्रदान गर्ने कामका लागि नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसैवीच राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका दुई विधेयक आज प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले सहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।