सोमवार, बैशाख १७, २०८१

प्रेस स्वतन्त्रता सेनानी गौतमको निधनले महासंघ मर्माहत

काठमाडौं असोज २ ,
नेपाल पत्रकार महासंघका पूर्वउपसभापति वरिष्ठ पत्रकार देवेन्द्र गौतमको ७७ वर्षको उमेरमा आज बिहन ५ः३० बजे ललितपुरको ग्वार्खोस्थित बिएण्डबी अस्पतालमा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र मर्माहत भएको जनाएकोछ । लामो समय महासंघको कार्यवाहक सभापतिको भूमिकासमेत निर्वाह गनुृभएका गौतम यसअघि कोभिड संक्रमणबाट मुक्त भएपछि श्वासप्रश्वासमा समस्या आएर निमोनिया देखिएपछि उक्त अस्पतालको आइसियुमा उपचाररत गौतमको स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखी थप उपचार भैरहेकोमा उपचारकै क्रममा निधन भएको हो । गौतमले

स्वर्गीय गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि नेपाल पत्रकार महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेलले उहाँको पार्थीव शरीरमा महासंघको झण्डा ओढाएर सम्मान प्रकट गर्नुभएको थियो । सो क्रममा महासंघका पदाधिकारी तथा पत्रकारिता सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत पत्रकार एवं शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

विक्रम संवत् २००२ सालमा काठमाडौंमा जन्मनु भएका गौतम सम्पादक समाज नेपालको पूर्वअध्यक्ष हुनुहुन्थ्यो । पाँच दशक लामो सक्रिय पत्रकारिताका क्रममा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा उभिँदा उहाँबाट सम्पादन र प्रकाशन भएका झण्डै एकदर्जन पत्रिकालाई प्रशासनले रोक लगाएको थियो । २०४२ सालको बम काण्डको बेला रामराजाप्रसाद सिंहको भाषण छापेको निहुँमा ६ महिना जेल जीवन बिताएका गौतमले सोही क्रममा ’अनुसन्धानभित्रको अनुसन्धान’ नामक पुस्तकसमेत लेख्नु भएको थियो ।

पछिल्लो समय नयाँ करेन्ट साप्ताहिकका सम्पादक÷प्रकाशकका रूपमा कार्यरत गौतमलाई २०६९ सालमा नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो भने नेपाल सरकारले सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो ।

नेपाली पत्रकारिताको संस्थागत विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका वरिष्ठ पत्रकार गौतमको निधनबाट नेपाली पत्रकारिता जगत्ले एक योग्य, अनुभवी र एकजना मूर्धन्य व्यक्तित्व गुमाएको छ भने महासंघले अभिभावक गुमाएको छ । उहाँको निधनलाई महासंघले पत्रकारिता जगतको अपूरणीय क्षतिको रूपमा लिएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहनेछ । स्वर्गीय गौतमका श्रीमती र दुई छोरा हुनुहुन्छ ।