सोमवार, बैशाख २४, २०८१

एमाले केन्द्रीय समिति बैठक: भावी प्रधानमन्त्रीका रुपमा ओलीलाइ अगाडि सार्ने निर्णय

वामपन्थीहरूबीच एकता र सहकार्यको लागि आह्वान

काठमाडौं भाद्र ११ ,
नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय समितिको आज सम्पन्न बैठकले अध्यक्ष केपी ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गर्दै आसन्न आम निर्वाचनमा अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कमिटीको चौथो बैठकले अध्यक्ष ओलीको नेतृत्वमा पार्टीले बहुमत ल्याउने गरी निर्वाचनमा जाने र उहाँलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने सर्वसम्मत निर्णय गरेको हो ।

त्यस्तै बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारको सिफारिस प्रक्रिया र उम्मेदवार छनौट मापदण्ड तय गर्नुको अलावा केन्द्रीय कमिटीको तेस्रो बैठकपछि सचिवालय बैठकबाट गरिएका निर्णयहरू समेत अनुमोदन गरेको छ।

साथै मंसिर ४ गते सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारी पार्टीले निर्धारण गरेको मापदण्ड पूरा भई प्रचलित निर्वाचन कानुनबमोजिम योग्य उम्मेदवारहरूको चयन गरी औपचारिक मनोनयन÷ बन्दसूचीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीकोे तर्फबाट पार्टीको केन्द्रीय सचिवालयलाई दिने निर्णय संगै प्रचलित निर्वाचन कानूनबमोजिम औपचारिक मनोनयन–पत्र दिन र उम्मेदवारको बन्दसूची पेश गर्न दलको केन्द्रीय कमिटीको तर्फबाट पार्टीका केन्द्रीय अध्यक्ष ओलीलाई अख्तियारी दिने निर्णय गरेको छ ।

यसैवीच एमालेका अध्यक्ष ओलीले एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । साथै उहँँले एकता को लागि एकता नभइ त्यस्तो एकता सक्कली हुनुपर्नेमा जोड दिनुभएको छ।