सोमवार, बैशाख २४, २०८१

श्रम समस्या समाधानका लागि सञ्चार प्रतिष्ठानलाइ महासंघको एकहप्ते अल्टिमेटम

काठमाडौं भाद्र ७,
नेपाल पत्रकार महासंघ प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रर्वधन विभागको आज बसेको बैठकले विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएका पछिल्लो श्रम समस्याको अवस्थाको बारेमा समीक्षा सहित विभिन्न् निर्णयहरु गरेको छ।

विभागका संयोजक रमेश विष्टको अध्यक्षता तथा महासंघका अध्यक्ष विपुल पोखरेल, महासचिव रोसन पुरीको विशेष उपस्थितिमा बसेको बैठकले श्रम अधिकारका लागि महासंघमा प्राप्त उजुरी तथा निवेदनमाथि छलफल गर्दैमहासंघले श्रम समस्या समाधानका लागि जनता टेलिभिजन, नाइस टेलिभिजन, बोधी टेलिभिजन र इमेज टेलिभिजनलगायतका सञ्चार प्रतिष्ठानले अवज्ञा गरेको ठहर गर्दै सम्बन्धित सञ्चार प्रतिष्ठानलाई एक हप्ते अल्टिमेटम सहितको आग्रह समेत गरेको हो ।

साथै बैठकले महासंघको आग्रहलाइ अवज्ञा गर्दै तोकिएको समयमा समस्या समाधान नगरे सम्वन्धित सञ्चार प्रतिष्ठानमा भाद्र १५, १६ र १७ गते सम्बन्धित चरणबद्ध धर्नालगायतका संर्घषका कार्यक्रम गर्न महासंघ वाध्य हुने बैठकपछि महासंघका महासचिव रोसन पुरीले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा कान्तिपुर टेलिभिजनले महासंघसँग गरेको सहमतिअनुसार त्यहाँ कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको र नागरिक दैनिकले कोभिड कालदेखि हालसम्म कटौती गर्दैै आइरहेको ३० प्रतिशत पारिश्रमिकसहितको नियमित पारिश्रमिकको सहमति तत्काल कार्यान्वयन गर्न महासंघले जोडदार माग गरेको जनाउँदै यी दुई प्रतिष्ठानलाई दुई साताभित्र भएको सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिदै त्यस अवधिसम्म पनि सहमति कार्यान्वयन नगरेमा महासंघ निर्णय कार्यान्वयनका लागि कानुनी र संर्घष दुवै बाटोमा उत्रने निर्णय  भएको उल्लेख गरिएकोछ ।