सोमवार, बैशाख १७, २०८१

विवेकशील साझाको अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराई

काठमाडौं साउन २९,
विवेकशील साझाको आज बसेको केन्द्रीय समितिको बैठकले  समीक्षा बास्कोटालाई  पार्टीको  नयाँ अध्यक्षमा चयन गरेको छ। पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा   दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको कार्यसम्पादन समिति सदस्य बास्कोटा र रिक्त संयोजक पदमा अर्का सदस्य सञ्जिववल्लभ भट्टराई चयन गरेको हो ।

विवेकशील साझा पार्टी, बागमती प्रदेशकी पूर्व संयोजक ३८ वर्षीय बास्कोटा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार थिइन्। त्यसअघि उनले २०७४ को निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर २७ प्रतिशत मतसहित तेस्रो स्थान हासिल गरेकी थिइन्। उनले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्।

त्यस्तै बैठकले निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रबाट स्थापनादेखि आजसम्म पार्टी निर्माणमा भएको अनवरत त्याग, योगदान तथा समग्र पार्टी पङ्क्तिलाई दिएको प्रेरणाप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी मार्गमा सफलताको हार्दिक शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ। बैठकले आउँदो मङ्सिर ४ गते हुने संघीय तथा प्रादेशिक निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय समेत गरेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ।