शुक्रबार, बैशाख १४, २०८१

विवादास्पद एसपीपीमा सहभागी नहुने गरी अमेरिकालाई पत्राचार गर्ने मप बैठकको निर्णय

काठमाडौ असार ७,
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय नेपालमा चर्को बिरोध र बहसको प्रसंग बन्दै आएको अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम अर्थात [एसपीपी] लाई अस्वीकार गर्ने गरी पत्र लेख्ने भएको छ ।

स्मरण रहोस, तत्कालीन एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७२ असोजदेखि अघि बढाइएको एसपीपी सम्झौता गत जेठको अन्तिम समयमा अमेरिका सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल चार्ल्स ए फ्लिनको नेपाल भ्रमणसंगै पछिल्लो समय विवादास्पद बनेको हो ।

सोमवार मन्त्रीपरिषद बैठक अघि नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टी सभापति समेत रहेको प्रधानमन्त्री शेरवहादुर देउवासंग महत्वपूर्ण छलफल गर्दै असंलग्न परराष्ट्र नीति अपनाइरहेको नेपाल कुनै पनि सैन्य गठबन्धनमा जान नहुने र राष्ट्रिय सहमति निर्माण गरी एसपिपीमा कहिल्यै सहभागी नहुने गरी अमेरिकालाई पत्राचार गर्न कति पनि विलम्व गर्न नहुनेमा ध्यानाकर्षण गराएको थियो ।

साथै यस विषयमा प्रमुख प्रतिपक्षी दल एमाले सहितको सहभागीतामा सर्वदलीय बैठक मार्फत साझा धारणा तय गर्दै अगाडि बढ्नुको विकल्प नभएको भन्दै तत्काल आवश्यक प्रक्रिया सहित यसबारे कदम चाल्न महामन्त्रीद्वयले  गर्नु भएको आग्रह अनुरुप मप बैठकले एसपीपीलाई अस्वीकार गर्ने गरी पत्र लेख्ने निर्णय गरेको थाहा भएको छ ।

त्यस्तै   मन्त्रीपरिषद बैठकले नेपाल वायूसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्वन गर्दै निज उपर आवश्यक छानविन गर्ने निर्णयसंगै जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । त्यसै गरी कोहलपुर- सुर्खेत १३२ केभि प्रशारण लाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ । साथै नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा र राष्ट्रिय समाचार समितिको अध्यक्ष पदमा धनुषाका पत्रकार धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।