आइतवार, बैशाख १६, २०८१

निर्वाचनमा तालमेलको ‘मोडालिटीको तय गर्न आज गठबन्धनका शीर्ष नेतृत्वको बैठक बस्दै

काठमाडौ चैत २९,
आसन्न स्थानीय तह निर्वाचनको लागि पाँच दलीय गठबन्धनका शीर्ष नेतृत्व सहितको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बस्ने बैठकमा निर्वाचनमा तालमेलको ‘मोडालिटी’, उम्मेदवार मापदण्ड र प्रक्रियासहितको निर्णय गर्ने गठबन्धनदल आवद्ध नेताहरुले जनाएको छ।

यसअघि गठबन्धनका शिर्ष नेतृत्वले सोमबार गठबन्धनको आवश्यकता किन भन्ने प्रसंगको प्रष्टिकरण सहति गठबन्धनको तर्फबाट बन्ने उम्मेदवारहरूलाई विजयी बनाउन मतदाताहरू समक्ष संयुक्त अपिल जारी गरेको थियो ।

त्यस्तै आजको बैठकले मुलुकको ७५३ स्थानीय  तहका लागि आ-आफ्नो दलको तर्फबाट प्राप्त प्रतिवेदन र सुझावको आधारमा तालमेलको मोडालिटीका विषयमा निर्णय गर्ने तयारी रहेको बुझिएको छ।