सोमवार, बैशाख २४, २०८१

आज ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं फागुन २४ , 
आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा समाजिक न्याय र लैङ्गिक समानता :दिगो विकासको शुनिश्चितता भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  सन् १९११ को मार्च १८ मा पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाइएकोमा सन् १९१७ देखि मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालिएको हो । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।

सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी विभिन्न ऐन कार्यान्वयनमा ल्याएपनि महिला र यौनहिंसाको अवस्थामा तात्विक फरक आउन सकेको छैन ।

दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । शुभकामना सन्देशमार्फत् उनले लैङ्गिक समानताको अभियानमा पुरुषको पनि सक्रिय सहयोग र सहभागिता उत्तिकै आवश्यक रहेको उल्लेख गरेकी छिन् ।