बुधबार, बैशाख २६, २०८१

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुवीच एमसीसी संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति

सरकारका तर्फबाट सञ्चारमन्त्री कार्कीले प्रस्ताव टेबल गर्ने , एमसीसी मात्र सदनमा नलग्ने सभामुखको अडान

काठमाडौ फागुन ८ ,
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले एमसिसी संसद्मा अनुमोदनका लागि टेबल गर्ने विषयमा भएको सहमति भएपनि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा एमसीसीसँगै अन्य महत्त्वपूर्ण विधेयक पनि संसदमा लैजानुपर्ने भन्दै एमसीसी मात्र सदनमा नलग्ने बताउनुभएको छ।

सभामुख सापकोटा सदनको अवरोध खुल्नुपर्ने र अन्य महत्त्वपूर्ण विधेयक पनि छलफलका लागि लैजानुपर्ने अडान प्रस्तुत गर्दै एमसीसीमात्रै सदनमा लैजाँदा लफडा हुने बताउनुभएको हो ।
दलका नेताहरूको फरक फरक धारणाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रियाअनुसार नै जाने भन्दै एमसीसी संसदमा टेबुल गर्ने अडान संगै सत्तारुढ गठबन्धन दलबीचको बैठकमा एमसीसी संसदमा टेबुल गर्ने सैद्धान्तिक सहमति जुटेकोहो ।

सम्भवतः आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुने संभावना बढेको छ। त्यस्तै यदि आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी टेबुल गर्ने कार्यसूची तयार भएमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्ताव पेस गर्ने भएका छन् ।

नियमतः विभागीय मन्त्रीसमेत रहेका अर्थमन्त्री जनार्दन शर्माले एमसीसी संसदमा टेबुल गर्नुपर्ने हो । तर, गत बुधबार बसेको सत्तारुढ दलको बैठकमा शर्मा ढिला आएकाले प्रधानमन्त्री देउवाले सरकारका प्रवक्तासमेत रहेका कार्कीलाई संसदमा टेबुल गर्न निर्देशन दिएका थिए ।