शुक्रबार, बैशाख १४, २०८१

आसन्न स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा उमेदवार खडा गर्ने राप्रपाको निर्णय

काठमाडौं माघ २७ ,
राष्ट्रिय प्रजातन्त्र पार्टीको आज बसेको पदाधिकारी बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय गरेो छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले आजको बैठकले पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउँदै सबै स्थानीय तहमा उमेदवार खडा गर्ने निर्णय भएको जानकारी दिनुभएको  हो ।

त्यस्तै बैठकमा पार्टीका महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजनामाथि छलफल गर्दै निर्वाचन लक्षित हुँदै यसवीचमानै पार्टीको संगठन सुदृढ र क्रियाशील बनाउँदै अगाडि बढ्ने समेत बैठकले निर्णय गरेको छ । देशव्यापी घरदैलो कार्यक्रम संगै कार्यकर्ता प्रशिक्षण संगै संभावित निर्वाचनको लागि संभावित उम्मेदवारको पहिचान सहित जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने लगायतका निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

त्यस्तै बैठक पछि जारी विज्ञप्तिमा राप्रपाले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि पुनः स्पष्ट गरेको छ । ‘यसमा जुनसुकै अवस्थामा समेत कसैसँग सम्झौता हुन सक्दैन भन्ने राप्रपाको प्रष्ट धारणा रहेको छ । यस सम्बन्धमा भ्रममा नपर्न राप्रपा सबैमा अनुरोध गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको   छ ।

यस्तै पार्टीलाई अनुशासित, मर्यादित बनाउन र पार्टी हित विपरीतका गतिविधिलाई निरुत्साहित गर्न वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्ति प्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहेको ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ