शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रिय सभा सदस्य निर्वाचन: देशभर १४ वटा मतदान केन्द्र संगै २ हजार २५ जना मतदाताको नामावली स्वीकृत

काठमाडौं पुस १,
निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि मतदान केन्द्र तोकेको छ । आयोगले आज देशभर १४ वटा मतदान केन्द्र तोकेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा प्रदेश १ मा २ वटा र बाँकी ६ प्रदेशमा १–१ वटा मतदानस्थलभित्र २–२ वटा मतदान केन्द्र हुनेगरी १४ वटा मतदान केन्द्र तोकिएको उल्लेख गर्दै आयोगले राष्ट्रियसभा सदस्य चुनावका लागि प्रदेश सभा सदस्यहरु ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जना मतदाताको नामावली स्वीकृत गरिएको जानकारी समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रदेश–१ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, प्रदेश सभा सदस्यका लागि वाली संरक्षण प्रयोगशालामा मतदान केन्द्र तोकिएको छ। प्रदेश–२ का लागि महेन्द्रनारायण निधि भवन, वाग्मती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा तोकिएको छ । लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदान केन्द्र तोकिएको जनाएकोछ ।