शनिबार, बैशाख १५, २०८१

अस्ताउँदो सूर्यको पूजा अर्चना सहित छठ पर्वको मुख्यपूजा सँझिया घाट सम्पन्न

काठमाडौं कात्तिक २४,
बुधवार छठ पर्वको मुख्यपूजा अर्थात सँझिया घाट अस्ताउँदो सूर्यको पूजा अर्चना सहित धुमधामका साथ मनाइएको छ । साँझ ५:१० बजे सूर्यास्तको समयमा नजीकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयको पानीमा डुबेर छठमातालाइ नियम निष्ठाका साथ पकाएका ठेकुवा, भुसुवाका साथै मिठाइ, केरालगायतका सामग्री दर्शन गराई अर्घको रुपमा अर्पण गर्ने नियम रहेको छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । त्यस्तै सूर्य पुराणमा उल्लेखभएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको प्रसंगको उठान सहित त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य उल्लेख गरिएको छ । समग्रमा छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहिआएको छ ।

त्यस्तै विहिवार प्रातकालमा उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै विधिवतरुपमा यो पर्व सम्पन्न गर्ने गरिन्छ ।