बुधबार, बैशाख १२, २०८१

कात्तिक २८ देखि मंसिर ४ गतेसम्म कोभिड–१९ विरुद्धको फाइजर खोपको पहिलो डोज लगाइने

काठमाडौं कात्तिक २४,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप कात्तिक २८ गते दिइने जनाएको छ । कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो डोज र मंसिर २७ देखि पुस ४ गते दोस्रो डोज खोप अभियान काठमाडौं उपत्यकामा ८ वटा अस्पताल , प्रदेश १, २ र लुम्बिनी प्रदेशका ३/३ अस्पताल, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका २/२ अस्पताल र गण्डकी प्रदेशमा एक अस्पताल बाट खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

कात्तिक ८ गते नेपाल आइपुगेको अमेरिकी सरकारबाट अनुदानमा प्राप्त १ लाख ६२० डोज फाइजर खोप काठमाडौं उपत्यकामा रहेका वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रबाट खोप दिइने भएको छ ।

यस्तै प्रदेश १ का मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।यस्तै प्रदेश २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ ।

यस्तै बागमती प्रदेशका चितवनको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थ्ति धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् । यस्तै गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाग्लुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् भने लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।

सुदूरपश्चिममा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेल्धुरा अस्पताल तथा कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछन् ।