शनिबार, बैशाख १५, २०८१

भगवान शिवको आराधनासहित हरितालिका तीजपर्व मनाइदै

काठमाडौ भाद्र २४ ,
आज भाद्र शुक्ल तृतीया अर्थात नेपाली महिलाहरूको महान चाड हरितालिका तीज भगवान शिवको आराधना एवम् नाचगान गर्दै हर्षोल्लासमय रुपमा मनाउँदैछ । तीज हिन्दू नारीहरूले मनाउने महत्त्वपूर्ण पर्वको रुपमा रहेको यो पर्व भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र विभिन्न जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता रहिआएको छ ।

यसैक्रममा आज ब्रत बसेका महिलाहरुले नजिकका शिवमन्दिरमा भेला भई दिनभरनाचगान रमाईलो गर्ने गर्दछन् । आज बिहानैदेखी महिलाहरुसौभाग्यसुचक रातो कपडा, धागो, चुरा(पोते, टीका र गरगहनासहित रातो कपडामा सजिएर शिव मन्दिरहरुमा पूजा आराधाना गर्ने गर्दछन् । विशेषगरि काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर र विभिन्न शिलावयमा महिला ब्रतालुको ठूलो भीड लाग्ने गर्दछ । तीजको अघिल्लो दिन माइतीले(बाबु आमा,दाजुभाइ) छोरी र चेली लाई घरमा बोलाएर मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ। दरमा खीर, ढकने वा केरा आदि अथवा ठाँउ अनुसार विभिन्न मिठा परिकार खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर दर खाने प्रचलन बसेको छ।

त्यस्तै तीजको धार्मिक दस्तावेजमा वर्णित आख्यान अनुसार हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन्। यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।