बुधबार, बैशाख २६, २०८१

नागरिक दैनिकमा कार्यरत झण्डै ३ दर्जन जिल्ला सम्वाददाता तथा स्ट्रीन्जर अनसनमा

काठमाडौं साउन १३,
नेपाल पत्रकार महासंघले नेपाल रिपब्लिक मिडियाद्वारा सञ्चालित नागरिक दैनिकमा कार्यरत झण्डै ३ दर्जन जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरूलाई व्यवस्थापन पक्षबाट झण्डै ३ वर्षदेखिको पारिश्रमिक उपलब्ध नगराएको अवस्था प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।

महासंघले पारिश्रमिक उपलब्ध गराउन माग गर्दै नागरिक दैनिकमा कार्यरत जिल्ला सम्वाददाता तथा स्ट्रीन्जरहरू काठमाडौं सुन्धारास्थित पत्रिकाको कार्यालयमा अनसनरत रहेको पत्रकारहरूको उक्त अनसनमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी सहभागी भई ऐक्यवद्धता जनाउनु भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै जारी विज्ञप्तिमा प्रतिष्ठित मिडिया हाउसबाट लामो समयदेखि पत्रकारहरूलाई काम लगाएर पारिश्रमिक उपलब्ध नगराउनु दुःखद् पक्ष भएको उल्लेख गर्दै श्रमजीवी पत्रकार ऐनविपरित नागरिक दैनिक व्यवस्थापनले गरेको जुनसकुै हर्कतको पनि भत्सर्ना गर्दै श्रमजीवी पत्रकार ऐनअनुसारको सबै सेवा–सुविधासहित अनसनरत पत्रकारहरूको बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन पत्रिका व्यवस्थापन पक्षसँग माग गरेको छ। साथै महासंघको मागलाइ वेवास्ता गरिएकमा दबाबमूलक संघर्षका कार्यक्रममा उत्रन बाध्य हुने चेतावनी समेत दिएको छ।