शुक्रबार, बैशाख १४, २०८१

कोभिड संक्रमणका कारण पत्रकार दाहालको निधन , महासंघ स्तब्ध

काठमाडौं बैशाख २५ ,

पछिल्लो समय बढ्दो कोभिड संक्रमणको चपेटामा परेर पत्रकार दिनेश दाहालको शनिबार उपचारका क्रममा निधन भएको छ । दाहाल संक्रमण भएयता १० वैशाख २०७८ मा धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना भएका थिए। लगत्तै पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। निमोनियासमेत देखिएपछि उनलाई सोही अस्पतालको आईसीयू कक्षमा राखेर राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको आज निधन भएको हो ।

यसैवीच नेपाल पत्रकार महासंघले काठमाडौं शाखाका सदस्य समेत रहेका दाहालको कोभिड संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र दुःखी भएको जनाएकोछ ।

महासचिव रोशन पुरीद्वारा आज जारी शोक विज्ञप्तिमा विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा कार्य गरेका थिए। पछिल्लो समय पत्रकार दाहाल सिपोष्ट न्यूज डटकमका सम्पादक र प्रकाशकको जिम्मेवारीमा रहेको जनाएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशले प्रदेश समिति मातहत रहेका काठमाडौं शाखाका सदस्य दाहालको निधन प्रति दुख व्यक्त गरेको छ । महासंघका अध्यक्ष श्रीजन झाले आफ्नो समाजीक सञ्जाल मार्फत पत्रकार दाहालको निधनप्रति दुख व्यक्त गरेको हो ।

 स्मरण रहोस पत्रकार दाहालसँगै कोभिडबाट  निधन हुने पत्रकारको संख्या ८ पुगेको छ। ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित रहेको महासंघले जनाएको छ ।