शनिबार, बैशाख १५, २०८१

मेलमिलापको नाममा अपराधलाई लुकाउने प्रवृति बढेकोमा चिन्ता व्यक्त

७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील प्रमुखहरुलाई निर्देशन

प्रहरी र सरकारी वकीलको  साझा प्रयासमा मेलमिलापको नाममा अपराध लुकाउने कार्य रोक्न आवश्यक :  महान्यायाधिवक्ता खरेल
प्रमाण संकलन गर्ने हो, सृजना गर्ने होइन:  प्रमानि थापा क्षेत्री

काठमाडौं कार्तिक २७,
महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ७७ वटै जिल्लाका प्रहरी प्रमुख र सरकारी वकील कार्यालयका प्रमुखहरुलाई बिहीबार निर्देशन दिदै विशेष सम्बोधन गर्नुभएको छ ।

महान्यायाधिवक्ता खरेलले सम्बोधनको क्रममा पछिल्लो समयमा गम्भीर प्रकृतिका फौजदारी कसूरहरुमा पनि स्थानीय स्तरमा मेलमिलाप हुने र अपराधलाई लुकाउन लगाउने जस्ता कार्यहरु भैरहेकोप्रति महान्यायाधिवक्ताको कार्यालयले गम्भीर रुपमा लिई यस्ता गैरकानूनी कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउन गरिएको आग्रहलाई स्थानीय तहसम्म सम्प्रेषण गरिएको जानकारी गराउनुभयो ।

साथै उहाँले यस्ता कार्यलाई निशंकोच कानूनी प्रक्रियामा ल्याई कानून कार्यान्वयनको प्रभावकारिताको सन्देश दिनुपर्नेतर्फ क्रियाशील हुन र यस्ता विषयमा स्थानीय तहका पदाधिकारी एवम् विद्यालय तथा सामुदायिक संस्थाका प्रतिनिधिसँग समेत सहकार्य गरी कानूनी व्यवस्थाको प्रचार प्रशार गर्न र समुदायलाई सचेत गराउनका लागि सम्बन्धित प्रहरी कार्यालय एवम् सरकारी वकील कार्यालयहरुले साझा प्रयास गर्न निर्देशन दिनुभयो ।

त्यस्तै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अपराध अनुसन्धानको हालको तथ्यांकीय अवस्था सहित बस्तुस्थितिको विश्लेषण गर्दै प्रहरी र सरकारी वकीलहरुले आपसी समन्वय र सहकार्य गर्न दुबै निकाय क्रियासिल हुन जरुरी रहेको बताउदै न्यायका लागि आउने व्यक्तिसँग सभ्य व्यवहार गर्न निर्देशन दिदै  प्रमाणमुखी अनुसन्धानमा जोड दिनुभएको छ ।

साथै उहँँले प्रमाण संकलन गर्ने हो, सृजना गर्ने होइन, सबुत प्रमाण ग्राह्य हो होइन निर्धारण गरी ग्राह्य प्रमाण मात्र संकलन गर्ने दिशामा अनुसन्धान निर्देशित हुनुपर्छ भन्दै अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन आवश्यक सबै प्रकारका सहयोगका लागि प्रहरी प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको बताउभयो