शुक्रबार, बैशाख १४, २०८१

निष्काशन र संक्रमणको “दोहोरो मार झेलिरहेका पत्रकारको निःशुल्क पीसीआर परीक्षण गर्न माग

काठमाडौं कार्तिक १६ , नेपाल पत्रकार महासङ्घले विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको दर वृद्धि भएसंगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुँदै आएको जनाएकोछ । त्यस्तै पछिल्लो समय ४ सयभन्दा बढी पत्रकारलाई कोभिड संक्रमण भएको छ भने ४ जना पत्रकारको संक्रमणका कारण निधन भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टद्दारा आज जारी विज्ञप्तिमा कोभिडको उच्च जोखिमका बीच संक्रमणको विषयमा नागरिकलाई सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारहरुलाइ एकातिर कोमिडकै कारण देखाई विभिन्न सञ्चार गृहबाट नियमित पारिश्रमिक नदिने, बेतलवी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्ने जस्ता क्रम बढिरहेको छ भने अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर पेशागत कर्म निर्वाह गर्नेक्रममा पत्रकारहरुमा संक्रमण बढिरहेको विषम अवस्था विद्यमान रहेको उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पीसीआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा निष्काशन र संक्रमणको “दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु सङ्क्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेसागत कर्म निर्वाहका क्रममा कोभिड सङ्क्रमित भई यतिखेर आफ्नै खर्चबाट पिसिआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु रहेको विज्ञप्तिमा भनिएको    छ ।

साथै विज्ञप्तिमा सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने पत्रकार र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबैसङ्क्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न माग गर्दै महासङ्घले आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न सबै पत्रकार अनुरोध समेत गरेको छ ।