शुक्रबार, बैशाख १४, २०८१

ट्याक्सी चालक हत्या प्रकरण: मदिरा सेवन, यौन सम्बन्ध र झगडा

काठमाडौं मार्ग ३०, गोर्कणेश्वर नगरपालिका १३ नयाँबस्तीमा मृत्यु भएका भनिएका ट्याक्सी चालक राजकुमार लामाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । मदिरा सेवन, यौन सम्बन्ध र त्यसपछि उत्पन्न झगडामा लागेको चोटका कारण लामाको मृत्यु भएको निस्कर्ष महानगरीय प्रहरी अपराध महाशाखाले निकालेको छ । लामाको मृत्युपछि आइतबार बिहान आक्रोशित स्थानीय र आफन्तले प्रहरी बिटमा आगजनी गरेका थिए ।  चौकी आगजनीलगत्तै प्रहरीले लामाको मृत्यु अत्याधिक मदिरा सेवनका कारण भएको बताएको थियो । त्रिवि शिक्षण अस्पतालमा भएको पोष्टमार्टम रिपोर्टले भने लामाको मृत्यु टाउकोमा परेको अत्याधिक चोटका कारण download-2भएको देखाएपछि प्रहरी लामाको हत्या भएको निष्कर्षमा पुगेको हो ।

हत्याको अभियोगमा प्रहरीले माया तामाङ, संगिता राई, मागधन राई, अरुण माझी र दिया माझीलाई पक्राउ गरेको छ । अपराध महाशाखाका अनुसार घटनाको साँझ ट्याक्सी चालक लामाले हेलम्बु रेष्टुरेन्टकी सञ्चालिका संगीता राईसँग साढे चार बजे तोङ्बा मागेर खाएको र साँझ ६ बजे पुन आएर होटल सञ्चालिकासँगै बसेर मदिरा पिएका थिए । त्यसपछि लामा सोही रेष्टुरेन्टमा काम गर्ने माया तामाङलाई आफ्नै ट्याक्सीमा राखेर दोहोरी जान हिँडेका थिए ।

बाटोमा ट्याक्सी बिग्रिएपछि मायासँगै संगीताकै रेष्टुरेन्टमा फर्केका चालक लामाले मदिराको सुरमा मायासँग यौन सम्पर्क राखेको र त्यसपछि उत्पन्न विवादमा धकेलाधकेल हुँदा अचेत भइ भूईमा लडेको प्रहरीले जनाएको छ ।  प्रहरी अनुसन्धानका अनुसार भुइँमा लडेका लामालाई होटल सञ्चालिकाका भाई मागधनले इँट्टाले टाउकोमा हानेको र त्यही चोटका कारण लामाको मृत्यु भएको देखिएको छ । होटल सञ्चालिका संगीताको छोरा अरुणले मानिस लडेको खबर आमालाई गरेपछि उनले ड्युटीमा रहेको प्रहरीलाई खबर गरी अस्पताल पुर्‍याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इँट्टा प्रहार गर्ने मागधनले पनि घटनाका बेला मदिरा पिएका थिए ।

प्रहरीले लामाको मृत्यु भएको बताएपछि स्थानीय र आफन्तले प्रहरी बिटमा आगजनी गरेका थिए । महानगरीय प्रहरी कार्यालयले घटनाबारे छानबिन गर्न मंगलबार नै अपराध महाशाखा प्रमुख सर्वेन्द्र खनालको नेतृत्वमा छानविन समीति गठन गरेको थियो ।   आगजनी लगत्तै महानगरीय प्रहरी परिसरले कार्यरत प्रहरीलाई फिर्ता बोलाएर नयाँ टोली खटाइसकेको छ । एसएसपी खनालले घटनाबारे अनुसन्धान भइरहेको र आगजनीको सम्बन्ध हत्यासँग मात्रै जोडिएको छ कि अन्य सम्बन्ध पनि छ भनेर हेर्ने प्रयास भइरहेको खवर आजको कान्तिपुर दैनिकमा प्रकाशित रहेको छ ।