शनिबार, बैशाख १५, २०८१

निर्धक्क भएर आफ्नो पेशा–व्यवसाय पूर्ववत सञ्चालन गर्न गृहको आग्रह [विज्ञप्ति सहित]

हड्तालको नाममा   कुनै अवाञ्छित गतिविधि भएमा त्यसमा संलग्नलाई कारवाही गर्ने चेतावनी

काठमाडौं माघ २१ ,
गृह मन्त्रालयले प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा भोलि [बिहिबार] आयोजित आम हड्तालका क्रममा उद्योगी तथा व्यवसायीलाई निर्धक्क भएर आफ्नो पेशा–व्यवसाय पूर्ववत सञ्चालन गर्न पनि आग्रह  गर्दै हड्तालको नाममा   कुनै अवाञ्छित गतिविधि भएमा त्यसमा संलग्नलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाद्वारा बुधबार साँझ जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान तथा प्रचलित कानून विपरित शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोध लगायतका ध्वंसात्मक एवं अवाञ्छित गतिविधि नगर्न नगराउन तथा संविधान प्रदत्त हकको निर्वाध उपभोग गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न सम्वद्ध सबै पक्षसँग मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’

विज्ञप्तिमा दैनिक सञ्चालन हुने उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै वाधा अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने उल्लेख छ । ‘यातायात व्यवसायी लगायत सबै उद्यागी–व्यवसायीलाई निर्धकक एवं आ–आफ्नो उद्योगधन्दा, पेशा–व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालय हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।