बुधबार, बैशाख १९, २०८१

आजबाट आसन्न तीनै तहको निर्वाचन लक्षित हुँदै मतदाता नामावली संकलन विशेष कार्यक्रम शुरु

काठमाडौं मंसिर १७,
निर्वाचन आयोगले आजदेखि आसन्न तीनै तहको निर्वाचन लक्षित हुँदै मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गर्दैछ । मतदाता नामावली संकलन काम हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म सञ्चालन हुनेछ भने तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुने आयोगले जनाएकोछ ।

मतदाता नामावली संकलनको काम स्थानीय तहका केन्द्रसंगै ७७ वटै जिल्ला निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट आआफ्नो नामावली दर्ता गराउन सक्ने जानकारी समेत आयोगले दिएको छ।

त्यस्तै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था रहेको जानकारीदिदै । आगामी निर्वाचनको मिति घोषणा हुनुभन्दा अगावै मतदाता नामावली दर्ताको काम टुंग्याउने भएका कारण छुट भएका र १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकको मतदाता नामावलीको विवरण संकलन हुनेछ भने आयोगले तोकेको मितिमा १८ वर्ष उमेर पूरा गरेका नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिने आयोगले जनाएको छ।

त्यस्तै आफ्नो जिल्ला भन्दा फरक जिल्लामा मतदाता नामावली दर्ता गराएका व्यक्तिको नाम निजको स्थायी ठेगाना रहेको मतदाता नामावलीमा समावेश हुने गरी सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा पठाइनेछ । साथै निजको मतदाता परिचयपत्र समेत स्थायी ठेगाना भएको जिल्लाबाटै प्राप्त गर्ने व्यवस्था मिलाइने आयोगले जनाएको छ । त्यस्तै नामावली संकलनको विशेष कार्यक्रमका लागि देशभर करिब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रूपमा संलग्न हुने जानकारी सहित प्स्तुत कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थप हुने अनुमान रहेको आयोगले जनाएको छ ।