बिहिबार, बैशाख २७, २०८१

पोखरामा व्यावसायिक उडानका लागि पहल हुन्छ: प्रधानमन्त्री

 पोखरा चैत ४,

प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताउनुभएको  छ ।

प्राकृतिक, सांस्कृतिक र साहसिक वैभवताको सङ्गमका रूपमा आफनो विशिष्ट पहिचान दिन सफल मुलुककै प्रमुख पर्यटकीय नगरी पोखरालाई मुलुककै पर्यटकीय राजधानी घोषणा गर्न आयोजित घोषणासभामालाइ सम्बोधन गर्दै उहाँले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै सम्बोधनको क्रममा राजनीतिक, सांस्कृतिक एवं प्रशासनिक क्षेत्रमा नेतृत्व प्रदान गर्दै आएको गण्डकी प्रदेश नेपालको राजनीति, सभ्यता र प्रशासनिक विकासक्रमका दृष्टिले जति गौरवशाली छ, त्यति नै सम्भावनायुक्त रहेको पोखरा नगरीमा रहेको “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्ने बताउनुभयो ।

साथै गण्डकी प्रदेशको विकासमा दुरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने भन्दै उहाँले पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेल्न आवश्यक रहेको बताउनुभयो ।

त्यस्तै आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ भन्दै उहाँले लक्ष्यअनुसार पर्यटक भित्राउन खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपील समेत गर्नुभयो ।